कैलाशः मकवानपुरको कैलाश गाउँपालिका र राक्सिरङ गाउँपालिकामा अधिक मात्रामा अवैध लागुऔषध गाँजा खेती हुने गरेको छ । यी पालिकाहरुमा खेतियोग्य जमिनको ८० प्रतिशत भु–भागमा गाँजा खेती हुँदै आएको छ । कानुनमा गाँजालाई अवैध मानेको छ । तर पालिकाभरि नै गाँजा खेती भइरहेको छ । स्थानीय तहले नियन्त्रणका लागि कुनै पनि कदम चाल्न सकेको छैन ।
प्रहरी प्रशासनले वर्षेनी गाँजा फँडानी गर्दै आएको छ । तर, प्रहरी प्रशासनले पनि माथिल्लो निकायमा गाँजा फँडानी गरेको भनेर देखाउने तर काम खासै गरेको देखिँदैन । प्रहरीले एउटा पालिकामा एक सय विगाह जग्गामा गाँजा फडानी गर्छ तर हजारौँ विगाह गाँजा रहेको जमिनमा नदेखे झैँ गरेर फर्कने गरेको छ । मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकाका मानिसहरु गाँजा खेति गरेर नै जिविकोपार्जन गर्दै आएका छन् । त्यहाँका मानिसको खेतिनै गाँजा देखिन्छ ।
मकवानपुरको विकट पालिकाको रुपमा रहेको यि पालिकामा हिउँदमा मुस्किलले सडक पुगेका छन् भने वर्षायाममा मानिस हिँड्न पनि समस्या पर्ने स्थान रहेको छ । भौतिक रुपले विकट भएको स्थानमा सडकको सुविधा नहँुदा मानिसले अन्य वस्तुको उत्पादन गर्न चासो देखाएका छैनन् । कैलाश र राक्सिराङ गाउँपालिकामा स्थानीयले ३० वर्षदेखि गाँजा खेति गर्दै आएका छन् । तर सरकारले प्रहरी प्रशासन परिचालन गरी फडानी गर्ने भन्दा कुनै कार्य गर्न सकेको छैन ।
गाँजा खेति नियन्त्रण गर्न स्थानीय तहले के गर्न सक्छ भन्ने प्रश्नमा कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले स्थानीय तहले यी क्षेत्रमा कुनै कार्य गर्न नसक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चुनावको समयमा सांसद पदका उम्मेदवारहरु गाँजालाई वैधानिकता दिएर हिँड्छन्, संसदमा गाँजाको कुरा उठाउँछन्, जनता उक्साउने काम गर्छन्, त्यसैले गाँजा खेती बढेको हो ।” स्थानीय सरकारसँग प्रहरी प्रशासन नहुने र कानुन स्थानीय तह मातहतको नहुने भएकाले गाँजा नियन्त्रणमा ल्याउन नसकिने उहाँ दावी गर्नुहुन्छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष गाँजा खेति बढेको बताउनुहुँदै गाउँपालिका अध्यक्ष मोक्तान भन्नुहुन्छ, “गाँजा फँडानीको नाममा प्रहरी प्रशासनको कमाई खाने धन्दा बनेको छ, आँखाले हेरेर नभ्याउने गाँजा खेती छ, प्रहरीले थोरै गाँजा फँडानी गर्छ फर्केर जान्छ ।” स्थानीय तहका जनताहरुले प्रहरी गाँजा फँडानी गर्न आएपछि पैसा उठाएको गुनासो समेत गर्ने गरेको उहाँको दावी छ । सरकारले नीतिमा नै खोट भएको बताउँदै सरकारको राम्रो नीति नहुँदा अवैध गाँजा खेति बढ्दै गएको छ । प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञ टोलीले गाँजाको विषयमा अनुसन्धान समेत गरेको अध्यक्ष मोक्तान बताउनुहुन्छ ।
“गाँजा खेती हुने ठाउँमा भारतीयहरुको लगानी रहेको छ”, एक स्थानीय भन्छन्, “गाँजाको बीउ पनि भारतीयले ल्याउँछन्, गाँजा भाले र पोथी २ थरिको हुन्छ, पोथी गाँजा मात्र प्रयोगमा आउँछ, गाँजाको प्रकार छुट्टाउन समेत भारतीय आउँछन् । पाकेपछि भारतीय नै व्यापारी आएर गाँजा लैजान्छन् । जसमा उत्पादन भएको मध्ये पाँच भागमा एक भाग उनिहरुले लैजान्छन् र अरु आफूहरुले बिक्री गर्ने गरेका छौं ।” “खुल्ला रुपमा भारतीय आएर खेती गर्न बीउ दिन्छन्, जाँच गर्न उनीहरुको टोली आउँछन् र गाँजा पाकिसकेपछि भारततर्फ लैजान्छन् । क्विन्टल–क्विन्टल गाँजा बाहिर लैजाने गरेको छ । प्रहरीले थोरै मात्रामा मात्र गाँजा नियन्त्रणमा लिएको छ, जब प्रहरीको सेटिङ मिल्दैन तब मात्र गाँजा समात्ने गर्छ”, स्थानीयले भने ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाले भने गँजा खेतीलाई नियन्त्रण गर्नका लागि गत आर्थिक वर्षमा राक्सिराङ गाउँपालिकाका केही स्थानमा ३५ हजार बोट कफिको बिरुवा वितरण गरेको थियो । यस वर्ष भने चितवनको राप्ती नगरपालिका र मकवानपुरको राक्सिराङ गाउँपालिकामा गरी ५ लाख बोट कफिको बिरुवा वितरण गर्ने सम्झौता भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका एसएसपी दिपक रेग्मीले बताउनुभयो ।