हेटौंडाः हेटौंडा–२ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय स्तरका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार गैरसरकारी संस्था महासंघको नागरिक आवासीय तालिम भवन वनस्खण्डीमा भएको कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा. ललिता पाण्डेले कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमबारे जानकारी दिनुभएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा भएको कार्यक्रममा डा. पाण्डेले संघ र प्रदेशमा आयुर्वेद सेवा तथा आयुर्वेद शिक्षाका बारेमा जानकारी दिनुभयो । मकवानपुर जिल्लामा ७ वटा आयुर्वेद संस्था रहेको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकासहित मनहरी गाउँपालिका, थाहा नगरपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका र कैलाश गाउँपालिकामा आयुर्वेद उपचारको व्यवस्था रहेको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रले बहिरंग सेवा, निःशुल्क औषधी वितरण, सशुल्क फार्मेसी सञ्चालन, पूर्वकर्म/पञ्चकर्म सेवा, निःशुल्क योग परामर्श सेवा, जेष्ठ नागरिक सेवा, स्तनपायी कार्यक्रम, प्रयोगशाला सेवा, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा र शल्य सेवा प्रदान गर्दै आइरहेको डा. पाण्डेले बताउनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्रले गत आर्थिक वर्ष २०७९/०८० मा १० लाख ५ सय ३४ जनालाई सेवा प्रदान गरेको थियो । डा.पाण्डेका अनुसार गत आर्थिक वर्षको मुख्य कार्यक्रमहरु विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर, आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई आयुर्वेदसम्बन्धी क्षमता अभिवृद्धि तालिम, जेष्ठ नागरिक कार्यक्रम, स्थानीय पत्रपत्रिका, टेलिभिजन र रेडियोमा आयुर्वेद सेवा प्रवद्र्धन कार्यक्रम रहेको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ का लागि आयुर्वेद स्वास्थ्य केन्द्रका लागि प्रदेशतर्पmको १ करोड ७६ लाख ६१ हजार रुपैयाँ र संघतर्पmको ३७ लाख ५२ हजार रुपैयाँ बजेट रहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ४ जना चिकित्सकहरुले सेवा प्रदान गर्दै आइरहनु भएको छ ।