हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१६ स्थित शक्ति खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौँडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । ५ सय ५७ धारा रहेको समितिलाई शनिबार बिहान हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको उपस्थितिमा बोर्डलाई हस्तान्तरण गरिएको हो ।
१७ बर्षअघि गठन भएको उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भएसँगै उपभोक्ताले न्यूनतम् महसुलमा छुट पाउने भएका छन् । समितिले न्युनतम दश हजार लिटर पानी उपभोग गरेवापत एक सय रुपैयाँ शूल्क लिने गरेको थियो । खानेपानीको मुहानलाई सदुपयोग गर्दै नगरको पूर्विक्षेत्रका बासिन्दालाई शुद्ध खानेपानी दिने कार्यमा थप व्यवस्थापन गर्दै लाग्ने हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले बताउनुभएको छ । बोर्डले हालसम्म १५ वटा उपभोक्ता समितिलाई गाभिसकेको अध्यक्ष विष्टले जानकारी दिनुभएको छ ।
उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बिश्वकर्माको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोइराला, वडा सदस्य राजनप्रसाद दाहाल, संगीता बिश्वकर्मा, बोर्डका सदस्य इन्द्र नेपाल, बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटाको उपस्थिति रहेको थियो ।