मुलुकमा लकडाउन भएको अढाई महिना भयो । बन्दाबन्दीको अवस्थाले विश्वकै अर्थतन्त्र तहसनहस भएको छ । जेनतेन जीवन गुजारा गरेको नेपाली समाज छ ठूलै समस्यामा पर्दै गएको छ । विश्वका करोडौं नागरिक बेरोजगार भएका छन् । विशेषगरी दैनिक ज्याला–मजदुरी गरी छाक टार्ने वर्ग भोकमरीको अवस्थामा छ । मानिस रोगले भन्दा भोकले मर्ने डर बढ्दै गएको छ । यस्तो समयमा उनीहरुका लागि राज्यले विशेष कार्यक्रमहरु ल्याउन आवश्यक हुन्छ । तर केही दिन पहिला सार्वजनिक गरिएको बजेटमा समेत नेपालका गरिबहरुका लागि कुनै प्याकेज समेत छैन । हचुवाका भरमा प्याकेज नल्याईने सरकारले बताएको छ । तर लकडाउन भएको यति लामो समयसम्म पनि आवश्यक तयारी किन भएन भन्ने प्रश्न उठेको छ ।
लकडाउनको सुरुकै दिनबाट श्रमिकहरुका लागि स्थानीय तहदेखि विभिन्न संघ संस्था र व्यक्तिहरु समेतले राहतका पोका बनाई वितरण नगरेका हैनन् । जुन समय उनीहरुसँग आफ्नै कमाईको केही अंश थियो त्यतिबेला दानवीरहरुको घुइँचो नै लाग्ने गरेको थियो श्रमिक वर्गको घर डेरमामा । कोरोनाको अन्त्य कहिले हुन्छ भन्ने कुराको यकिन विश्व विज्ञानले नै सकेको छैन । त्यसैले यसको संक्रमण रोक्ने पहिलो उपायका रुपमा लकडाउन बढाउनु सरकारको बाध्यता हो । त्यही अनुसार बन्दाबन्दी थपिएसँगै गरिबहरुका समस्या पनि थपिएका छन् । न त दानवीरहरु कतै देखिएका छन् न राज्य वा स्थानीय तहबाट नै राहतका थप कार्यक्रम नै भएका छन् । यस अवस्थामा उनीहरुको दैनिकी कष्टकर भएको छ ।
सरकारले पनि अर्बौं रकम राहतका लागि खर्च गरेका खबरहरु सार्वजनिक नभएका हैनन् । राहतपीडित समक्ष पुगे नपुगेको उनीहरुले नै थाहा पाउने विषय भएको छ । तर लकडाउन जति लम्बिँदै गयो त्यति राहत खाँचो परेको छ । तर राज्यका तर्फबाट अर्बौंका कुरा पनि सकिए र समाजसेवीहरुलाई पनि फेसबुकमा फोटो अपलोड गर्ने रहर पुगेको छ । त्यसैले अब श्रमिक वर्ग छाक टार्न नसक्ने अवस्थामा छन् । कतिपयले त खान नपाएकै कारण ज्यान गुमाई सकेका छन् । भारी बोकेर जीवन गुजारा गर्नेदेखि मेलापात गर्नेहरु त्यही अवस्थामा हप्तौंको भोको पेटमा मर्न बाध्य भएका छन् तर समाजसेवीदेखि राज्य बेखबर जस्तै बनेको छ ।
यो यथार्थ कुनै एक क्षेत्र वा समुदायको मात्र नभई सिंगो देशका नागरिको दुर्दशा हो । श्रमिकको मात्र हैन अव स्वदेशी रोजगारदाताले कामबाट निकालिएकादेखि विदेशबाट फर्किएका मजदुरहरु समेत भोकै पर्ने अवस्था छ । क्वारेन्टाईनमै राखिएकाहरुले समेत खान नपाएको गुनासा आईरहेका छन् । घरमा खान नपुगेर विदेशिएका वा सहर पसेकाहरु पुरानै अवस्थामा फर्किएपछि अब भोकमरी अनिवार्य जस्तै छ । तसर्थ अब राहत चाहिएको छ । हिजोका फेसबुके दातादेखि राज्यबाट राहत प्याकेज सार्वजनिक हुनु पर्दछ । केही नभए पनि विहान बेलुकाको छाक टार्ने बन्दोवस्त गराउनु पर्छ । यसका लागि प्रत्येक वडामा सामुहिक भान्छा सन्चालन होस् । घरमा थोरै पनि अन्न हुनेले हुँदै नहुनेका लागि बनाईएको राहतको भात खाने आँट गर्ने छैनन् । तसर्थ केही केजी चामलका पोका भन्दा सामुहिक भान्सा सन्चालन उपयुक्त राहत हुन सक्छ ।