सांकेतिक तस्वीर ।

हेटौंडाः हिजो बुधबार हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको जंगलमा भेटिएको शवको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार बरामद शव भारतको महाराष्ट्र प्रदेशका नागरिक प्रकाश मानसीको भएको खुलेको छ ।

हेटौंडा–५ मा डेर गरी बसेको र स्थानीय धागो उद्योगमा काम गर्ने प्रकाश मानसी जेठ १८ गते दिउँसो १ बजे घरबाट निस्किएका थिए । उनकी श्रीमतिले जेठ २० गते प्रहरीमा श्रीमान् हराएको भनी जानकारी समेत गराएको प्रहरीले जनाएको छ । प्रहरीले शवको पहिचान भएर श्रीमति सम्पर्कमा आएपछि पोष्ट मार्टमको तयारी भइरहेको जनाएको छ ।

उनको मृत्युको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । रुखमा झुण्डिएको अवस्थामा हिजो बुधबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव निकालेर हेटौंडा अस्पतालको शवगृहमा राखेको थियो ।