हरेक वर्ष अक्टोबर १ मा विश्वभर ज्येष्ठ नागरिक दिवस मनाउने गरिएको छ । यसवर्ष आइतबार ३३ औं विश्व जेष्ठ नागरिक दिवस मनाइएको छ । संयुक्त राष्ट्र संघले सन् १९९० मा गरेको घोषणाअनुसार १९९१ देखि अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउन थालिएको हो । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ विश्वभर यो दिवस मनाउन थालिएको हो । सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानव अधिकारबारे विश्वव्यापी घोषणा गरिएका वाचाहरु पूरा गरौँ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर ज्येष्ठ नागरिक दिवस मनाइएको छ । ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन मानिन्छ । तर, पारिवार तथा समाजबाट नै ज्येष्ठ नागरिक अपहेलित हुने क्रम बढेको छ ।
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमै चासो र चिन्ता बढ्दै गएको छ । सन् १९८२ मा अस्ट्रियाको भियनामा र सन् २००२ मा स्पेनको म्याड्रिडमा गरी हालसम्म दुईपटक ज्येष्ठ नागरिकसम्बन्धी विश्व सम्मेलन भएका छन् । यी दुबै विश्व सम्मेलनले ज्येष्ठ नागरिकसम्बन्धी राजनीतिक घोषणा र कार्ययोजना पनि पारित गरेका थिए । तिनै घोषणा र कार्ययोजनामुताविक विश्वभर ज्येष्ठ नागरिकका लागि आर्थिक तथा सामाजिक कल्याणकारी कार्य भइरहे का छन् । नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ बमोजिम साठी वर्ष उमेर पूरा गरेकालाई ज्येष्ठ नागरिकका रूपमा परिभाषित गरिएको छ । अहिले संसारभर ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको संख्या करिब एक अरब पुगेको छ । वि.सं २०७८ को जनगणनाअनुसार नेपालमा ज्येष्ठ नागरिकको संख्या २९ लाख ७७ हजार ४१८ छ । २०६८ को जनगणनामा यो संख्या २१ लाख ५४ हजार ४१० रहेको थियो । ज्येष्ठ नागरिकको संख्या वृद्धि हुँदै गए पनि उनीहरुको पालनपोषण तथा हेरचाहमा भने समस्या बढ्दै गएको छ ।
युवा अवस्थाका रोजाई र भोगाइबाट खारिँदै मानिस वृद्ध अवस्थामा पुग्छ, जसलाई ज्येष्ठ नागरिक भनिन्छ । नेपालको संविधान, २०७२ को धारा (४१)मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी उल्लेख गरिएको छ । तर, नेपालको सन्दर्भमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा राज्य तथा परिवारका सदस्यले उचित ध्यान दिन सकेको पाइँदैन । एकाध अपबादहरुबाहेक सबैजसो ज्येष्ठ नागरिकले अपहेलित जीवन जिउनु परिरहेको छ । वृद्धावस्थामा आम मानिसमा शारीरिक अशक्तता, परनिर्भरता र आशामा आवश्यकताहरु रहन्छन् तर, त्यहीबेला हेला, घृणा र दुव्र्यवहारको शिकार बन्ने गरेका छन् । बालक जस्तै ज्येष्ठ नागरिकहरुमा पनि माया, ममता, स्नेह र तथा आधारभूत आवश्यकतामा परनिर्भरता हुन्छ । सरकारले ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई मासिक भत्ताबाहेक उल्लेख्य काम गर्न सकेको छैन । ज्येष्ठ नागरिकका लागि विभिन्न योजना तथा कार्यक्रम ल्याए ज्येष्ठ नागरिकमैत्री नहुँदा प्रभावहीन बनिरहेका छन् ।
विभिन्न कार्यक्रमको आयोजना गर्दै नेपालमा पनि अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । देशका विभिन्न पालिकाहरुले यसै दिवसको सन्दर्भमा आफ्ना जेष्ठ नागरिकको सम्मान, पौष्टिक आहार वितरण तथा जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्नेजस्ता कार्यक्रम गरेका छन् । वर्षमा एक दिन गरिने सामान्य औपचारिक कार्यक्रमले ज्येष्ठ नागरिकको हित हुँदैन । हाम्रा जेष्ठ नागरिकहरु दिनदिनै तिरस्कृत बन्ने गरेको पाइन्छ । ज्येष्ठ नागरिकहरुको इच्छा र चाहनामा परिवार तथा राज्य कसैले विशेष ध्यान पुर्याउन सकेको छैन । बुढ्यौलीले छुँदै गएपछि शरीर कमजोर हुँदै जाने र विभिन्न रोग लाग्ने हुन्छ । यस्तो अवस्थामा ज्येष्ठ नागरिकलाई शारीरिक र मानसिकरुपमा स्वस्थ राख्नुपर्छ । उनीहरुलाई घर, परिवार र समाज र राज्यको सहयोग निरन्तर हुनुपर्दछ । ज्येष्ठ नागरिकले पनि आफूलाई स्वस्थ राख्न खानपानसँगै सामाजिक गतिविधिमा संलग्न हुनुपर्छ । ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र सम्बद्र्धन गर्न सकेमा उनीहरुको वास्तविक सम्मान हुनसक्छ ।