सांकेतिक तस्विर ।

हेटौंडाः सवारी दुर्घटनामा एकै दिन २ जनाको मृत्यु भएको छ । काभ्रे र चितवन जिल्लामा एकै दिन २ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

काभ्रे जिल्लाको बनेपा नगरपालिका–७ धनेश्वर गेट नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे रोसी गाउँपालिका–८ खार्पाचोकका ३९ वर्षीय सिद्धि कुमार लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बेलुका ९ बजेको समयमा बनेपाबाट पनौती जादै गरेको बा ८४ प ६९५९ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आउदै गरेको बा.४ ख.९९७५ नम्बरको टिपरले ठक्कर दिँदां लामा गम्भिर घाइते भएका थिए । घाइते लामालाई उपचारको लागि सुरुमा सिरमेमोरीयल अस्पताल बनेपा लगिएको र पछि थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा बुधबार बिहान ५ बजेको समयमा निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, चितवन जिल्ला राप्ती नगरपालिका–८ खुरखुरेमा दुईवटा बस एक आपसमा ठोकिदा भरतपुर महानगरपालिका–२८ का ४८ वर्षीय खड्क बहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।सोमबार दिउँसो १ बजेको समयमा पोखराबाट गौर जाँदै गरेकोे ग १ ख ७५३२ नम्बरको यात्रु बाहक बस र विरगंजबाट काठमाण्डौ जाँदै गरेको ना ७ क ६०४१ नम्बरको बस एक आपसमा ठोकिदा दुवै बसका चालक सहित ४१ जना घाईते भएका थिए ।

दुर्घटनामा ना ७ ख ६०४१ बस चालक दर्जी गम्भिर घाइते भएकामा उपचारको क्रममा मंगलबार दिउँसो २ बजे नयां मेडिकल कलेजमा मृत्यु भएको थियो । घाइते मध्ये १७ जना डिस्चार्ज भएको र २३ जनाको उपचार भैरहेको प्रहरीले जनाएको छ ।