हेटौंडाः हेटौंडा–८, कमानेमा रहेको एन्टार्टिक बिस्कुट उद्योगमा गत आइबार अवैध ग्याँसको सिलिन्डर भेटिएपछि सिलिन्डरलाई सिल गरिएको छ । नेपालमा १४ केजीभन्दा बढी तौलको एलपी ग्याँसको सिलिन्डर प्रयोग गर्ने अनुमति नभए पनि बिस्कुट उद्योगमा ४ सय ५० केजीको ग्याँस सिलिन्डर प्रयोग भएको पाइएपछि सिल गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत आशाबहादुर थिङले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली, प्रहरी र सञ्चारकर्मीको अनुगमनमा आइतबार सिल लगाइएको थिङले बताउनुभयो । त्यस्तै, शुक्रबार ए–प्यालेस र रोयल पार्टी प्यालेसमा ४ सय ५० केजीको ग्याँस प्रयोग गरेको पाइएकाले त्यहाँ पनि सिल गरेको उहाँले बताउनुभयो । हेटौंडा–१६ को एक ह्याचरी उद्योगले पनि अवैध ग्याँस सिलिन्डर प्रयोग गरेको उहाँले बताउनुभयो ।
कानुनीरुपमा अवैध कार्यलाई नियन्त्रण गर्न अनुगमन गर्ने गरिएकाले यसबाट कानुनको पालना गराउन सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो । अत्यधिक क्षमताको ग्याँस सिलिन्डरको प्रयोगले भौतिक क्षति, मानवीय क्षति नहोस् र २ नम्बरी कार्य नहोस् भन्ने उद्देश्यले सिलिन्डरमा सिल गरिएको उहाँको भनाइ छ ।
नेपाल आयल निगमले नेपालमा १४ केजीभन्दा बढी तौलको एलपी ग्याँस सिलिन्डर प्रयोग गर्ने अनुमति दिएको छैन । तर, कतिपय ग्याँस रिफिल गर्ने उद्योगले बढी तौलको सिलिन्डर बजारमा ल्याएको र होटल तथा उद्योगहरुले त्यस्ता सिलिन्डर प्रयोग गरिरहेको पाइएको अधिकृत थिङको भनाइ छ । कानुनीरुपमा मान्यता नपाएको र अत्यधिक क्षमताको ग्याँस सिलिन्डरको प्रयोगबाट क्षति हुनसक्ने भएकाले प्रतिबन्ध लगाइएको उहाँको भनाइ छ ।