हेटौँडाः काभ्रे जिल्लामा विभिन्न घटनामा परी एकै दिन ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । काभ्रेको धुलिखेल नगरपालिका–४ अठ्ठाईसकिलोमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका–२ का २० वर्षीय विशाल तामाङ रहेको प्रहरीले जनाएको छ ।
बुधबार अरनिको राजमार्गमा बनेपाबाट धुलिखेल तर्फ आउदै गरेको ना ७ ख ९७९८ नम्बरको ट्रकले विपरित दिशा तर्फ जादै गरेको बा.प्र.०२–०४२ प ८७०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तामाङ गम्भिर घाइते भएका थिए । घाइते तामाङलाई उपचारकोलागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै काभ्रेको नमोबुद्ध नगरपालिका–१० सिम्लेभञ्ज्याङमा एक जना पुरुष मृत फेला परेका छन् । बुधबार साँझ ६ बजेको समयमा लेक बहादुर नेपालीको दुई तले खाली घरको दोस्रो तल्लामा सोलु घर बताउने ज्याला मजदुरी गर्ने अन्दाजी ५६ वर्षीय हाल नाम थर वतन नखुलेको पुरुष मृत फेला परेको प्रदेश प्रहरीले जानकारी दिएको छ ।
यसैगरी काभ्रेकैे नमोबुद्ध नगरपालिका–११ डाँडाकटेरीमा अत्याधिक ज्वरोका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया रिस्तिका तामाङ रहको प्रहरीले जनाएको छ ।
बुधबार १० बजेको समयमा तामाङलाई अत्यधिक ज्वरो आई उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा ११ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।