हेटौँडाः हेटौंडा–२, मनकामनाचोकस्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दसौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन हेटौंडा शनिबार सम्पन्न भएको छ । स्थापनाको १२ वर्षमा सहकारीले उल्लेख्य प्रगति गरेको छ । २०६८ सालमा स्थापना भएको सहकारी करिब ५ वर्ष घाटामा चलेको थियो । आर्थिक वर्ष २०७२/७३ देखि दिलिश गोविन्द जोशीको नेतृत्वमा सहकारी सञ्चालनमा आएसँगै उल्लेख्य प्रगति भएको हो । शनिबार सम्पन्न चौथो अधिवेशनबाट जोशी तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
आर्थिक वर्ष २०७९/८० मा सहकारीको सेयर पुँजी एक करोड १५ लाख रुपैयाँ, बचत संकलन ३ करोड ७० लाख रुपैयाँ र ऋण लगानी ५ करोड ३४ लाख रुपैयाँ रहेको छ । जोशी नेतृत्वमा आउने समय अर्थात आर्थिक वर्ष २०७२/७३ मा २ लाख ६७ हजार रुपैयाँ सेयर पुँजी थियो भने बचत संकलन १३ लाख ५१ हजार रुपैयाँ तथा ऋण लगानी २ लाख २० हजार रुपैयाँ रहेको थियो । जोशी नेतृत्वको समितिले पहिलो वर्षको जिम्मेवारी पूरा गर्ने क्रममा आर्थिक वर्ष २०७३/७४ मा सेयर पुँजी ७ लाख ८३ हजार रुपैयाँ, बचत संकलन ९ लाख ६२ हजार रुपैयाँ र ऋण लगानी ५ लाख ९२ हजार रुपैयाँ पुर्याएको थियो ।
आर्थिक वर्ष २०७४/७५ देखि भने सुधारको गति तीव्र बनेको देखिन्छ । उक्त वर्ष सेयर पुँजी २८ लाख रुपैयाँ पुग्यो भने बचत संकलन ७६ लाख २१ हजार रुपैयाँ र ऋण लगानी ६९ लाख ७७ हजार रुपैयाँ पुग्यो । आर्थिक वर्ष २०७८/७९ मा सेयर पुँजी १ करोड ३ लाख रुपैयाँ पुर्याएको सहकारीले आर्थिक वर्ष २०७५/७६ मै बचत संकलन र ऋण लगानी एक करोड भन्दा बढी पुर्याइसकेको थियो । प्रहरी सेवाबाट निवृत्त हुनुभएपछि व्यवसायमा सक्रिय जोशीले आफ्नो असल व्यावसायिक छवि र आफ्ना व्यवसायी साथीहरुको साथ र सहयोगमा सहकारीको तीव्र विकासलाई सम्भव तुल्याउनुभएको हो । तेस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएका जोशीले आगामी दिनमा सहकारीलाई अझ व्यवस्थित बनाउँदै लैजाने बताउनुहुन्छ ।
शनिबार सहकारीका अध्यक्ष दिलिश गोविन्द जोशीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । साधारणसभाको उद्घाटन कार्यक्रममा सहकारीका अध्यक्ष जोशीले सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीको देशको आर्थिक अवस्था कमजोर भइरहेका बेलामा पनि सहकारीले सकारात्मक प्रगति हासिल गर्न सफल भएको बताउनुभयो । साधारणसभामा सचिव धनबहादुर पौडेल (कल्याण) र कोषाध्यक्ष कमल गौतमले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
साधारणसभाको अवसरमा ज्येष्ठ सेयर सदस्य रत्नमाया गोले तामाङ, असल बचतकर्ता भद्रपन्ध्र समूह, असल ऋणि ज्ञानेन्द्र महर्जनलाई सम्मान गरिएको छ । यस्तै सञ्चारकर्मी सुरेश श्रेष्ठ, उत्कृष्ट कर्मचारी रुकु खड्का र प्रमोद पहाडीलाई सम्मान गरेको छ । कार्यक्रममा २ नम्बर वडाध्यक्ष बिष्णुगोपाल महर्जन र ५ नम्बर वडाध्यक्ष सुशील घिमिरेको पनि आतिथ्य रहेको थियो । एक हजार चार सय जना सेयर सदस्य रहेको सहकारीको अधिवेशनले उपाध्यक्षमा निलम श्रेष्ठ, सचिवमा कमल गौतम, कोषाध्यक्षमा यदुनाथ तिमल्सिनालाई सर्वसम्मत चयन गरेको छ । यस्तै सदस्यमा सर्मेन्द्र पौडेल, राजेश्वर दाहाल, हरि श्रेष्ठ, मेनुका न्यौपाने र हरिगोपाल सापकोटालाई सर्वसम्मत चयन गरेको छ । यस्तै लेखा समितिको संयोजकमा गोकर्ण बर्तौला सदस्यमा अजिव भट्टराई र रुपेश खतिवडा चयन हुनुभएको छ ।