हेटौँडाः हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा युरोप भ्रमणमा जानुभएको छ । नगरप्रमुख लामा आइतबार युरोप प्रस्थान गर्नुभएको हो । सहरी विकास कोष (टिडिएफ) को कार्यक्रममा सहभागी हुन संघीय सरकारको सहरी विकास मन्त्री सीता गुरुङ नेतृत्वको ५ सदस्यीय टोली युरोपको नेदल्याण्ड्स र स्वीट्जरल्याण्डमा हुने कार्यक्रममा सहभागी हुन जानुभएको नगरउपप्रमुख राजेश बानियाँले जानकारी दिनुभएको छ ।
नेपालबाट संघीय मन्त्री गुरुङ, हेटौँडा उपमहानगरकी प्रमुख लामासहित ३ वटा नगरका महिला प्रमुखहरु युरोप भ्रमणमा जानुभएको हो । नगरप्रमुख लामा भदौ ३१ गते स्वदेश फर्कनुहुने उहाँको सचिवालयले जनाएको छ । सहरी विकास कोषको सहयोगमा हेटौँडामा उपमहानगरपालिकाका विभिन्न योजना सञ्चालन रहेका छन् । सहरी विकास कोषको ऋणमा बहुउद्देश्यीय भवनसहित बसपार्कको निर्माण भइरहेको छ भने हेटौँडा–१० मा व्यावसायिक भवन निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कार्य भइरहेको छ ।