नेपाली हिन्दू महिलाहरुको विशेष चाडको रुपमा तीजलाई लिने गरिन्छ । भाद्र शुक्ल तृतीयाको दिन मनाइने हरितालिका तीज धेरै नेपाली नारीको लागि ठूलो महत्व र पर्खाइको चाड हो । हिन्दू महिलाहरुले शिवजीको व्रत बसेर तीज पर्व मनाउँछन् । हरितालिकालाई तीज भन्ने गरिए पनि यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । भाद्र शुक्ल द्वितीयाका दिन बेलुका (राति) दर खाने गरिन्छ । दरको रुपमा मीठा र आडिला परिकार बनाएर खाइन्छ । भाद्र शुक्ल तृतीयाका दिन व्रत बसेर भगवान शिवको पूजा, आराधना गरिन्छ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्वसँगै तीजको समापन हुन्छ । तीजमा व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन बेलुका आडिलो परिकारहरु बनाएर दर खाने परम्परा छ । तर, आजकल तीजको नाममा महिनौं अघिदेखि दर खाने र खुवाउने चलन बढ्दै गएको छ । यस वर्षको तीज पर्व आउन करिब दुई साता बाँकी छ । आगामी असोज १ गते हरितालिका र ३ गते ऋषिपञ्चमी परेको छ । हरितालिकाको अघिल्लो दिन भदौ ३१ गते दरखाने दिन रहेको छ ।

तीजको परम्परा धान्ने नाममा अहिले विकृति बढाउने क्रियाकलाप बढ्दै गएको छ । तीजको दर खुवाउने/खाने नाममा महिनौं अघिदेखि नै कार्यालय, होटल तथा सार्वजनिक स्थलमा दर कार्यक्रम हुने गरेको छ । महिला वर्गलाई जम्मा पारेर दर खुवाइनुलाई नराम्रो भन्न नमिल्ला । तर, संस्कृतिको रुपमा रहेको दर खाने परम्परा विकृतिपूर्ण बन्दै जाने खतरा भने बढेको छ । तीजको व्रत बस्ने अघिल्लो दिन खानुपर्ने दर महिनौं अघिदेखि खानुको कुनै धार्मिक, सांस्कृतिक महत्व देखिँदैन । यस्तो परिपाटीले दर खाने र खुवाउने नाममा विकृति बढ्ने निश्चित छ । महंगा होटल वा पार्टी प्यालेसमा आयोजना हुने दर कार्यक्रम फजुल खर्चको गतिलो उदाहरण हो । अझ दरको नाममा विभिन्न प्रकारका मादकपदार्थसमेत खाने र खुवाउने क्रम बढ्नुले चिन्ता थपेको छ । दर खाने क्रममा महिलाले गर्ने पोशाक तथा गरगहना प्रदर्शनीले थप विकृति ल्याउने सम्भावना पनि उत्तिकै देखिएको छ ।

धार्मिक, सांस्कृतिक पर्वको रुपमा लिइने तीजका थुप्रै सकारात्मक विशेषताहरु पाइन्छन् । विशेषगरी सबै छोरीचेली एकठाउँमा जम्मा भई भेटघाट, खानपिन, नाचगान गरेर यो पर्व मनाइने हुँदा यसले महिलालाई स्वतन्त्रता र सन्तुष्टि प्रदान गर्दछ । धार्मिक मान्यतामा विश्वास गर्नेहरुका लागि पनि यो पर्व विशेष मानिन्छ । आफ्ना श्रीमानको दीर्घायू तथा भविष्यमा सुयोग्य श्रीमान पाउने कामना गर्दै व्रत, उपासना पूजा तथा आराधना गरेर यो पर्व मनाइन्छ । तीजको धार्मिक महत्व जे जस्तो भए पनि सामाजिक महत्व एकदमै राम्रो छ । तीजमा माइतीमा चेलीबेटीलाई बोलाइने तथा उनीहरुको दुःख, सुख बुझ्ने गरिन्छ । तीज पर्व महिनाभर दरको नाममा पार्टी गर्ने, कपडा र गहनामा प्रतिस्पर्धा गर्ने चाड होइन । यो चाड हाम्रो सामाजिक संरचना र त्यसले महिलालाई दिने गरेको पीडा उजागर गर्ने माध्यम बन्नुपर्छ ।

हरेक वर्ष तीज भड्किलो र विकृतिपूर्ण बन्दै गइरहेकोप्रति सचेत नागरिकले चासो र चिन्ता व्यक्त गर्नुपर्ने अवस्था बनिरहेको छ । धर्म, संस्कृति र चाडपर्वको नाममा विकृति बढ्नुलाई सहजरुपमा लिन सकिँदैन । दर खाने कार्यक्रम हरितालिका तीजको अघिल्लो दिनमा मात्रै सिमित गरौं । महिनौं अघिदेखि महङ्गो भोज गरेर दर खाने परिपाटीको अन्त्य हुनैपर्छ । तीज पर्वलाई चेलीले माइती जाने तथा आफ्ना दुःख–सुख साटासाट गर्ने अवसरको रुपमा लिनु आवश्यक छ । हरेक चाडपर्वको आ–आफ्नै धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य मान्यता हुन्छन् । चाडपर्वको असल मूल्य मान्यताको पालना गरेर राम्रो उद्देश्यबाट मितव्ययी भएर चाडपर्व मनाउनु उचित हुनेछ ।