“खाना तीन दिन पुरानो थियो
तर भोक चार दिनको
त्यो बच्चाले निकै आनन्द मान्दै खायो
किन कि भोक भन्दा खाना ताजा थियो ।”

माथि उल्लेख गरिएका हरफ सामाजिक सञ्जालमा पढेपछि खै मेरा मन, मस्तिष्कले धेरै कुराहरु सोच्न बाध्य भए । हुन त विश्व भोकमरी सूचकांकमा दक्षिण एसियामा नेपाल अन्य मुलुकको तुलनामा सुरक्षित देखिएको छ । भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपालको दाँजोमा कमजोर देखिन्छ । नेपालको संविधान २०७२ ले खाद्य अधिकारलाई सुनिश्चित गरेको छ । यो कति कार्यान्वयन भयो भन्नुभन्दा पनि आज सामाजिक भोकको विषयमा चाहिँ सोच्न ढिला पो भयो कि भन्ने लागेको छ ।

तर हामी भित्र देखिएको शिक्षा, रोजगारी, आर्थिक सम्पन्नता, सुशासन एवम् प्रविधि लगायतका कुरामा बढ्दो भोकले चै हामीलाई बिस्तारै गम्भीर बनाउँदैछ । वास्तवमा यस्तै भोकले नै तपाई हामीलाई बिस्तारै दास बनाउँदै छ । जस्का लागि तपाई–हामी आ–आफ्नो क्षेत्रबाट आफुलाई कति आवश्यक के कुरा को आवश्यक्ता हो बुझेर अघि नबढ्ने हो भने र राज्यस्तरबाट पनि समयमा नै यि समस्याको पहिचान गरी आवश्यक कदम नचाल्ने हो भने बिस्तारै हामी थप जटिलतातर्फ अघि बढ्ने लगभग पक्का छ ।

समाजमा हुने विकृति, विसंगति पनि त्यहि भोककै उपज हो भन्दा फरक नपर्ला । जब कुनै पनि कुराको भोकले व्याकुल बनाउँछ नि अनि विस्तारै मान्छे होस या कुनै प्राणीले आफ्नो चैन गुमाउँदै जान्छ । उसँग त केवल उसको त्यो भोक पूर्ति गर्नुपर्ने बाध्यता, आवश्यकता र ईच्छाको भोक भन्दा ठूलो अर्को केहि हुनै सक्तैन । यदि यो भोकको पहिचान सही समयमा हुन सक्ने हो भने समाज रुपान्तरणमा खासै समय पक्कै लाग्ने थिएन होला । र समाजमा हुने बेथिति लगायतका विकृति पनि बिस्तारै कम हुँदै जाने कुरामा विश्वस्त हुन सकिन्छ । उचित शिक्षा र उज्ज्वल भविष्यको भोकले आज हाम्रा दैनिक सयौं युवा अनि करोडौं रुपैयाँसहित परिवार छाड्न बाध्य छन् ।

के राज्यस्तरबाट उचित नीति बनाएर चाहेको खण्डमा जनताको त्यो भोक मेटाउन नसकिने थियो र ? श्रम बजारको हालत उस्तै छ । मासिक तीस हजार रुपैयाँ कमाउन आज खाडीमा तल्लो स्तरको काममा जानका लागि नेपाली युवाको तँछाड–मछाड देख्दा उदेक लाग्छ । आखिर कहिलेसम्म ? पशुपति आर्यघाट पारी बसेर घाटैतिर फर्केर दुई घण्टा बस्दा नरसाएका आँखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देश छाड्न बाध्य हुनेहरुको भीडमा बस्ने हो भने त्यो दुधे बालकले रुँदै आफ्नी आमाको साथ नछाडेको दृश्य अनि एक महिने छुट्टीमा घर आएर बिहे भाको बीसौं दिनमा कमाउन भन्दै परदेशिने त्यो छोरालाई खादा ओढाउन आएका बाबुको आँखामा झल्किने पीडा होस् या त आफ्नो प्रियजनसँग रुँदै छुट्न नसकेको प्रियसीको पीडा त्यो कारुणिक दृश्यले पन्ध्र मिनेट भित्रै आँखा रसाएको पत्तै हुन्न ।

सरकार के हामीले त्यसलाई व्यवस्थित गर्न नसकने नै हो त । राज्यले त्यो रोजगारीको भोक बुझ्न सक्नुपर्यो । यदि अझै ढिला गरिन्छ भने हेक्का रहोस् भोको पेटले जात, धर्म, संस्कृति भुल्छ । ईमान बिर्सन्छ । भोकै रुँदै हिँडेकाले राष्ट्रियता पनि भुल्छन् । रम्छ उतै परदेशमै घरदेश उस्का लागि बिरानो भैदिन्छ । आखिर यो नियति कहिलेसम्म देख्न अनि भोग्नु पर्ने हो खै । अनि त्यो भोकले गाँजिएर कुपोषित हुने हामीलाई कठै चैं कसले भन्ला खै ?