हेटौँडाः सत्तारुढ ४ दलको समाजवादी मोर्चाले बागमती प्रदेशको राजधानी हेटौँडामा भदौ २४ गते सन्देश सभाको आयोजना गर्ने भएको छ । मोर्चा गठनको औचित्य बताउने उद्देश्यले आयोजना गरिएको सन्देश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द हेटौँडा आउने निश्चित भएको नेकपा एकीकृत समाजवादीका मकवानपुर जिल्ला सचिवालय सदस्य माधव तिमल्सिनाले जानकारी दिनुभएको छ ।

समाजवादी मोर्चाको अर्को घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने विषय भने अझै निश्चित भइनसकेको तिमल्सिनाले बताउनुभएको छ । सन्देश सभासँगै प्रदेशस्तरीय मोर्चा पनि गठन गरिने बताइएको छ । ४ वटै पार्टीका ४/४ जना सदस्य रहने गरी १६ सदस्यीय मोर्चा गठन गरिने उहाँको भनाइ छ । समाजवादी मोर्चा गठनको औचित्य र सरकारले गरेका राम्रा कामका बारेमा पार्टीका कार्यकर्तालाई स्पष्ट पार्ने उद्देश्यले सन्देश सभाको आयोजना गरिएको बताइएको छ ।