पछिल्लो समयमा मुलुकभर सडक दुर्घटना कहालीलाग्दो रुपमा वृद्धि भइरहेको छ । हरेक दिन सडक दुर्घटनामा परेर दर्जनौं मानिसले ज्यान गुमाइरहेका छन् । सडक दुर्घटना कहालीलाग्दो गरी बढ्दा सडक यातायातको प्रयोग असुरक्षित बनिरहेको छ । देशभर सहज पहुँच भएको एकमात्र सडक यातायात असुरक्षित बन्दा सरकारले खासै चासो देखाउन सकेको छैन । बिहीबार राति करिब १ बजेको समयमा हेटौंडा नजिक चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनामा ६ जना भारतीय नगरिक र एक जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । बुधबार बिहान करिब ११ बजे धादिङको गजुरी गाउँपालिका–२, चालिसेस्थित पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पर्वत जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भएर सडकबाट ४० मिटर तल त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
यी त सडक दुर्घटनाको पछिल्लो दुई उदाहरणमात्र हुन् । यस्ता दुःखद् दुर्घटनाका खबर सञ्चार माध्यमबाट दिनहुँ सुन्न, देख्न र पढ्न पाइन्छ । यस्ता दुर्घटना बढ्दै गएका कारण नेपालमा सडक दुर्घटनाको कहालीलाग्दो बनिरहेको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो ५ वर्षमा सडकदुर्घटनामा परी १२ हजार ६ सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा मात्र ३५ हजार ७ सय ५४ वटा सडक दुर्घटनाका घटना भएका छन्, जसमा २ हजार ३ सय २० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षभित्र सडक दुर्घटनामा परी २८ हजार ९ सय ५६ जना मानिस घाइते भएका छन् । अघिल्लो आव २०७८/७९ मा २ हजार ८ सय ८३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । आव २०७७/७८ मा २ हजार ६ सय ५८, आव २०७६/७७ मा २ हजार ५ सय र आव २०७५/७६ मा २ हजार २ सय ५१ जनाको सडक दुर्घटनामा ज्यान गएको नेपाल प्रहरीको तथ्याङ्क छ ।
सडक दुर्घटनाले मानवीय क्षति गराउने विषयसँगै अंगभंग गराउने संख्यासमेत विकराल देखिन्छ । सडक दुर्घटना शून्यमा झार्न नसकिए पनि न्यूनीकरण गर्न सकिन्छ । दुर्घटनाको नियति जहिले पनि घातक हुन्छ । सडक पूर्वाधार, कमजोर नियमन र चालकको लापरवाहीले नेपालमा धेरै दुर्घटना हुने गरेको सडक सुरक्षा विज्ञको भनाइ छ । सवारी साधनको तिब्र गति, ट्राफिक नियमको उल्लंघन, सवारी साधनको अवस्था पनि सडक दुर्घटनाका मुख्य कारणको रुपमा पाइने गरेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, जथाभावी ओभरटेक गर्न खोज्नु क्षमताभन्दा बढी यात्रु तथा भार बोक्नु पनि सडक दुर्घटनाका कारण देखिएका छन् । नेपालमा विभिन्न प्राकृतिक प्रकोपबाट भन्दा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यधिक भएकोमा विश्व स्वास्थ्य संगठनले समेत चासो देखाइरहेको अवस्थामा दुर्घटनाको संख्या र त्यसबाट हुने जनधनको क्षति बढ्दै जानु चिन्ताको विषय बनेको छ ।
कहालीलाग्दो बन्दै गएको सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी र दिगो प्रयास हुनुपर्छ । सडकमा हुने साना–ठूला सबै प्रकारका दुर्घटनालाई गम्भीररुपमा लिएर यसको कारण खोजी गरी न्यूनीकरणका लागि ध्यान दिनु जरुरी छ । अधिकांश सडक दुर्घटनामा मानवीय त्रुटी मुख्य कारण देखिएकाले सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरु नै बढी सचेत बन्नुपर्ने देखिन्छ । सडक सुरक्षाको दीर्घकालीन समाधानका लागि सुरक्षित सडक बनाउनु आवश्यक छ । सरकारले सडक सुरक्षाको लागि उपयुक्त नीति, नियमको तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गराउनुपर्छ । यातायात क्षेत्रमा देखिएका चरम लापरबाहीको अन्त्यबाटै दुर्घटना न्यूनीकरणको सुरुवात गर्नुपर्छ । यसका लागि यातायात व्यवसायी, चालक, यात्रु तथा सरकारी निकाय सबैले गम्भीर भएर आफ्नो कर्तव्य पालना गर्नु आवश्यक छ ।