पुरस्कृत प्राध्यापक तथा कर्मचारीहरु प्रिन्सीपलको साथमा ।

हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्राध्यापक, कर्मचारीलाई सम्मान गरेको छ । वार्षिकरुपमा कार्यसम्पादन तथा नतीजाका आधारमा प्राध्यापक र कर्मचारीलाई सम्मान गरेको हो । बुधबार एक कार्यक्रमको आयोजना गर्दै म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले नगदसहित सम्मान गर्नुभयो ।

म्यानेजमेन्टले व्यवस्थापन सङ्कायतर्फ गोकुल अर्याल, विज्ञान संकायतर्फ शेखरचन्द्र भट्टलाई उत्कृष्ट प्राध्यापकको रुपमा जनही नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको छ । यस्तै लामो समयदेखि कार्यरत समीर गौतमलाई नगद ४० हजार रुपैयाँसहित लाइफटाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ । विषयगतरुपमा उत्कृष्ट नतीजा हासिल गर्ने प्राध्यापकलाई पनि सम्मान गरिएको छ । स्नात्तकोत्तर र स्नातक तहमा बढी विद्यार्थी उत्तीर्ण भएका विषयगत प्राध्यापकहरु प्रद्युम्न उपाध्याय, नित्यराज भट्टराई, सविना सडौला, पूर्ण ढोडरीलाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । कर्मचारीतर्फ रवीन श्रेष्ठलाई नगद २० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

कक्षा ११ र १२ मा विज्ञान र वाणिज्य संकाय, स्नातक तहमा बाणिज्य संकाय र सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको हेटौंडा स्कूल अफ म्यानेजमेन्टले स्नात्तकोत्तर तहमा वाणिज्य संकाय सञ्चालन गर्दै आएको छ । म्यानेजमेन्टले उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीलाई पनि सम्मान गर्दै आएको छ ।