हेटौँडाः छिमेकी जिल्ला धादिङको गजुरी गाउँपालिका–२, चालिसेस्थित पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । बुधबार बिहान ११ बजेर १० मिनेटको समयमा उक्त सडकखण्ड हुँदै काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भएर सडकबाट ४० मिटर तल त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको हो ।
बुधबार साँझसम्म मृत्यु भएका ८ जनामध्ये ६ जनाको पहिचान खुलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । सनाखत हुनेमा ३ जना पर्वत जिल्लाका रहेका छन् । बस नदीमा खस्दा पर्वत जिल्लाको मोदी गाउँपालिका–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, सोही पालिकाको वडा नम्बर ५ का ४५ वर्षीय झपटबहादुर क्षेत्री र पर्वतकै जलजला गाउँपालिका–६ की ४२ वर्षीया राधिका सापकोटाको मृत्यु भएको छ ।
यस्तै, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, धादिङको गजुरी गाउँपालिका–८ का २० वर्षीय सुशील रम्तेल र कास्की जिल्लाको फूलबारी–११ का २५ वर्षीय सुमन थापाको मृत्यु भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइतेमध्ये म्याग्दीकी ४५ वर्षीया सुनिता छन्त्याल, बंगलादेशका ३५ वर्षीय सुदिप मण्डल, बंगलादेशकै ३२ वर्षीय मोहमद हजिरहुल र म्याग्दीको बेनी नगरपालिका–३ का २९ वर्षीय गौतम छन्त्यालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मध्यम घाइते भएका बाग्लुङकी १९ वर्षीया सुुस्मा क्षेत्री, बस चालक म्याग्दीका ३० वर्षीय दीपक थापा, बेनी–३ का २४ वर्षीय पूर्ण छन्त्याल,.पर्वतको मोदी–१ का ४१ वर्षीय गुरुदत्त शर्मा पौडेल, काठमाडौंका ५२ वर्षीय खड्ककुमार श्रेष्ठ र म्याग्दीको रघुगंगा–६ की रीना राना मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ का १९ वर्षीय कुशल अधिकारी, पर्वतकी ६३ वर्षीया हरिकला गौडेल, म्याग्दीका क्रमशः २२ वर्षीया अञ्जु राना मगर, २९ वर्षीय प्रविन पुन र १६ वर्षीया गीता जंजाली मगरको उपचार भइरहेको जनाइएको छ । घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा २५ जना, जिल्ला प्रहरी कार्यालय धादिङबाट १३ जना, जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङबाट १० जनाको टोली खटिएको थियो । यस्तै, सशस्त्र प्रहरी १५ जना र नेपाल आर्मीका ३५ जना सेना उद्दारका लागि खटिएका थिए ।