हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित राक्सिराङ आधारभूत अस्पतालले एक वर्षपछि मेडिकल अधिकृत पाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी बजारबाट मोटरसाइकलमा ३० मिनेटमा पुग्न सकिने राक्सिराङको चैनपुरस्थित राक्सिराङ आधारभूत अस्पतालले मेडिकल अधिकृत पाउन भने एक वर्ष लागेको हो । गाउँपालिकाले गाउँमा बसेर सेवा गर्न चाहने मेडिकल अधिकृतको खोजी गरेपछि मात्रै नियुक्तिको आवश्यक प्रक्रिया थालनी गरेको हो ।
राक्सिराङ गाउँपालिकाले मंगलबार एक सूचना प्रकाशित गरी डा. गजल पन्तलाई मेडिकल अधिकृत (आठौँ तह) नियुक्तिको प्रक्रियामा सफल उम्मेद्वारको रुपमा चयन गरेको छ । डा. पन्त मकवानपुर जिल्लाकै हुनुहुन्छ । डा. पन्त हेटौँडा–४ का स्थायीवासी हुनुहुन्छ । वैकल्पिक उम्मेदवारको रुपमा गोरखाका डा. अञ्जनजंग थापा रहनुभएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख विजय कापरीका अनुसार गाउँमा बसेर काम गर्न इच्छुक चिकित्सकको अभावमा एक वर्षदेखि १० शैय्याको राक्सिराङ आधारभूत अस्पतालले मेडिकल अधिकृत नपाएको हो ।
गाउँपालिकामा कार्यरत मेडिकल अधिकृत डा. सुवास बराल उच्च शिक्षा अध्ययनका लागि विदेश जाने भएपछि २०७९ साल भदौ २८ गते गाउँपालिकाले विदाई गरेको थियो । बरालको विदाईपछि राक्सिराङ आधारभूत अस्पताल डाक्टरविहिन बनेको हो । डा. बराल हाल उच्च शिक्षा अध्ययनको क्रममा इजिप्टमा हुनुहुन्छ । त्यसअघि राक्सिराङ गाउँपालिकाको पहिलो डाक्टरको रुपमा डा. धनबहादुर खत्रीले करिब डेढ वर्ष सेवा गर्नुभएको थियो । दोस्रो डाक्टर सुवास बरालले करिब ६ महिना गाउँपालिकामा सेवा गर्नुभएको थियो ।
बरालको विदाईपछि गाउँपालिकाले मेडिकल अधिकृत नियुक्तिका लागि एक पटक सूचना सार्वजनिक गरे पनि इच्छुक मेडिकल अधिकृत कोही पनि नभेटिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख कापरीले जानकारी दिनुभयो । यसपटक पनि सेवा गर्न आउन २ जना इच्छुक मेडिकल अधिकृत पाएपछि सूचना प्रकाशन गरेको कापरी बताउनुहुन्छ । २ जना सम्पर्कमा आएपछि गाउँपालिकाले सूचना प्रकाशित गरे पनि ३ जनाले आवेदन दिएका थिए । गाउँपालिकाले नियुक्त गर्ने मेडिकल अधिकृतलाई संघीय सरकारले तलब दिनेछ भने गाउँपालिकाले शतप्रतिशत् भत्ताको व्यवस्था गरेको छ ।