क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक ।

हेटौँडाः क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोविल छ्याप्ने २ जनालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनही १० हजार रुपैयाँ धरौटीमा छाडेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले आइतबार जनही १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिनुभएको हो ।

साउन २७ गते शनिबार हेटौँडामा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को मकवानपुर जिल्ला समितिको अधिवेशनमा सहभागी हुन आउनुभएका कार्यवाहक सचिव पाठकमाथि मोबिल छ्याप्ने ३ जना मध्ये हेटौँडा–१३, वनस्पतीका प्रिन्स भनिने बलवीर लामा र हेटौँडा–१९, बस्तीपुरका विशाल गुरागाई पक्राउ परेका थिए । अर्का एकजना अझै फरार छन् । साउन २८ गते आइतबार दिउँसो लामा र गुरागाईलाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले पक्राउ परेका दुबैजनालाई धरौटीमा छाडिएको जानकारी दिनुभयो । अर्का फरार चितवन जिल्लाको भएकोले चितवन प्रहरीलाई नै खोजी गरी पक्राउ गर्न पत्राचार गरिएको प्रवक्ता कार्कीले बताउनुभएको छ । हेटौँडा–४ स्थित क्वीक–२० होटलमा खाना खाइरहेको समयमा कार्यबाहक सचिव पाठकमाथि मोविल छ्यापिएको थियो ।