हेटौँडाः बागमती प्रदेशको ५ जिल्लामा एकैदिन आइतबार ७ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे ४ बजे मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाउँदा ४ वर्षीया प्रमिसा स्याङ्तानको मृत्यु भएको छ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१, ठूलोखोलामा ४६ वर्षीया कुमारी सारु मगरको मृत्यु भएको छ । निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने मगरको सुतिरहेको बेलामा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, हाकिमचोकमा १९ वर्षीय नवीन खनियाँ आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला गरेका छन् । नुवाकोटा जिल्लाको बेलकोटगढी नगरपालिका–१० मा ६५ वर्षीय वृद्ध कोपचन्द्र सुनारको भीरबाट लडेर मृत्यु भएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ मा भारतको दार्जिलिङ घर बताउने अन्दाजी ५० वर्षीय मोक्तान भनिने एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे जिल्लाकै पाँचखाल नगरपालिका–६, हनुमानगढीमा गोरेटोबाटोमा ५८ वर्षीय गुम्दे सार्की मृत अवस्थामा फेला परेका छन् । यस्तै सिन्धुली जिल्लाको दुधौली नगरपालिका–२, आँपभञ्ज्याङमा भारत सितामढीका ३३ वर्षीय सुनिल कुमार यादव लंगुरखोला मन्दिर दर्शन गर्न जाँदै गर्दा अचानक लडेका थिए । यादवलाई उपचारका लागि स्वास्थ्यचौकी लगिएकोमा डाक्टरले मृत घोषित गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।