हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले खानेपानी वितरण प्रभावकारी बनाइरहेको छ । करिब एक दशकअघि गठन भएको बोर्डले हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका बासिन्दालाई खानेपानी सेवा प्रदान गर्दै आएको छ । तत्कालीन नेपाल खानेपानी संस्थानको हेटौंडा शाखालाई बोर्डमा हस्तान्तरण गरेपछि बोर्डले खानेपानी संकलनका लागि थप स्रोतको विकास तथा वितरणलाई प्रभावकारी बनाउँदै आएको छ । बोर्डले उपमहानगरको केही वडाका सबै क्षेत्रमा खानेपानी वितरण गरे पनि अधिकांश वडाको केही क्षेत्रमा मात्र खानेपानी सुविधा उपलब्ध गराउँदै आएको छ । उपमहानगरका १९ वटा वडामध्ये हालसम्म बोर्डले ३ वटा वडामा खानेपानी वितरण थालेको छैन । उपमहानगरपालिकाभित्र बसोबास गर्ने सबै नागरिकको स्वच्छ खानेपानी प्राप्त गर्ने अधिकारप्रति हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड सम्बेदनशील देखिएको बोर्डले स्थानीय, प्रदेश र संघीय सरकारसँगको साझेदारीमा नयाँ खानेपानी आयोजना निर्माण र भइरहेका संरचनाहरुको मर्मत तथा सुधारका काम गरिरहेको छ । उपमहानगरको सबै क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै सुलभरुपमा गुणस्तरीय खानेपानी उपलब्ध गराउन बोर्ड अग्रसर बन्दै आएको छ ।
हेटौंडाको खानेपानी वितरणको जिम्मा बोर्डमा हस्तान्तरण हुनुअघि हेटौंडामा खानेपानी आपूर्ति पर्याप्त थिएन । त्यसबेला हेटौंडा बजार क्षेत्रमा दैनिक ७० लाख लिटर पानी वितरण भइरहेको थियो भने माग दैनिक एक करोड २० लाख लिटर थियो । पछिल्लो समय बोर्डले दैनिक २ करोड ५ लाख लिटर खानेपानी वितरण गर्दै आएको छ । करिब २४ हजार धारामार्फत् करिब १ लाख ६० हजार बासिन्दालाई खानेपानी उपलब्ध गराइरहेको छ । हेटौंडाको ११, १२ र १३ नम्बर वडामा बोर्डको सेवा विस्तार हुन बाँकी छ । हेटौंडाको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० को सबै क्षेत्रमा बार्डले खानेपानी वितरण गरिरहेको छ । वडा नम्बर १, ३, १४, १५, १६, १७, १८ र १९ को आंशिक क्षेत्रमा खानेपानी वितरण गरिरहेको छ । बोर्डले सेवा विस्तार हुन बाँकी वडाहरु र क्षेत्रहरुमा नयाँ खानेपानी योजना निर्माण तथा उपभोक्ता समितिमार्फत् सञ्चालन भइरहेका योजनाहरु बोर्डको मातहत ल्याउने कार्य गर्दै आएको छ ।
खानेपानी उपभोक्ता समितिबाट वितरण गरिएको पानीको गुणस्तर तथा महशुल फरक–फरक भइरहेको अवस्थामा नगरबासीलाई स्वच्छ र सर्वसुलभ किसिमबाट गुणस्तरीयरुपमा न्यून शुल्कमा खानेपानी सुविधा उपलब्ध गराउन बोर्ड क्रियाशील बनिरहेको छ । करिब एक वर्षदेखि हेटौंडा उपमहानगरपालिकाले बोर्डका उपभोक्तालाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेपछि उपभोक्ता समितिमार्फत् सञ्चालन भइरहेका खानेपानी योजनाहरु बोर्डमा हस्तान्तरण गर्ने क्रम बढ्दै गएको छ । यसले बोर्डलाई अवसर र चुनौती दुबै थप गरेको छ । बोर्डले खानेपानी वितरणको जिम्मा लिएपछि वितरण प्रणाली र थप खानेपानी आपूर्तिका स्रोतहरु पहिचान गरी विकास गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।
खानेपानीको सहज आपूर्तिको लागि नयाँ आयोजनाहरु निर्माणलाई तिब्रता दिँदै खानेपानीको आपूर्ति पर्याप्त बनाउन क्रियाशील बनिरहेको बोर्डले आम उपभोक्ताको विश्वास जित्न सफल भएको पाइन्छ । नागरिकको आधारभूत अधिकारभित्र पर्ने खानेपानीको वितरणलाई सहज बनाउन बोर्ड निरन्तर क्रियाशील बनिरहेको छ । सन् २०३० सम्म सबैका लागि पर्याप्त खानेपानी उपलब्ध गराउने लक्ष्यसहित बोर्डले योजनाबद्ध ढंगबाट काम गर्नुका साथै सार्थक नतिजा हासिल गर्नुलाई सुखद् मान्नुपर्छ । तीनै तहको सरकारसँगको संयुक्त लगानीमा बोर्डले हेटौंडाको ६, ७, ८, ९, ११, १६ र १७ नम्बर वडाको विभिन्न क्षेत्रमा नयाँ आयोजना निर्माण तथा पाइपलाइन विस्तारको काम गरिरहेको हुँदा नगरको सबै क्षेत्रमा सेवा विस्तार गर्न बोर्ड क्रियाशील बनेको देखिन्छ । बोर्डले हेटौंडा उपमहानगरपालिकाको सबै क्षेत्रमा सेवा विस्तार गरी नगरबासीलाई सुपथ मूल्यमा पर्याप्त मात्रामा स्वच्छ पानी वितरण गर्नु आवश्यक छ ।