सुर्तीजन्य पदार्थको उत्पादन, बेचबिखन र प्रयोगलाई व्यवस्थित गर्ने उद्देश्यले २०६८ सालको सुरुवातमै सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन लागू गरेको थियो । उक्त ऐनमा भएका प्रावधानको प्रभावकारी कार्यान्वयन हुन नसक्दा ऐन प्रभावहीन बनेको छ । ऐनले सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनलाई नियमन गर्न व्यवस्था गरेको प्रावधानविपरित हालसम्म पनि जुनसुकै स्थान र पसलबाट, जुनसुकै समयमा, जोसुकैले चुरोट, सुर्ती किन्ने र जहाँ पनि सेवन गर्ने परिपाटी कायमै छ । ऐनमा कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन भन्ने व्यवस्था छ । तर, हेटौंडा उपमहानगरपालिका क्षेत्रका अधिकांश विद्यालय, क्याम्पस तथा स्वास्थ्य संस्था वरपरका होटल तथा पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवन भइरहेको छ ।
हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको तयारीको क्रममा प्रत्येक शैक्षिक तथा स्वास्थ्य संस्थाको एक सय मिटरभित्र सुर्तीजन्य पदार्थको बेचबिखन गर्न नपाइने सूचना टाँस गरिएको छ । उपमहानगरपालिकाले निषेधित क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न बारम्बार सूचना जारी गर्नुका साथै सचेत गराउँदै आएको छ । उपमहानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमनसम्बन्धी ऐन २०७८ मा पनि तोकिएको स्थलबाहेक अन्यत्र वा निषेधित क्षेत्रमा सेवा वा वस्तुको बिक्री वितरण गरे गराएमा २ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था गरिएको छ । तर, उपमहानगरपालिका निषेधित क्षेत्रमा सुर्तीजन्य पदार्थको बेचबिखन एवम् सेवनमा रोक लगाउन असफल भइरहेको छ । उपमहानगरपालिकाको नेतृत्वले सार्वजनिकरुपमै सुर्तीजन्य पदार्थको नियमन गर्ने उद्घोष गरे पनि त्यसको कार्यान्वयन हुन नसक्दा विकृतिसमेत बढ्दै गएको छ ।
हेटौंडा उपमहानगरपालिकाले विद्यालय, अस्पताल र सरकारी कार्यालय आसपासमा सुर्तीजन्य पदार्थ बिक्री वितरणबारे अनुगमन गरिरहेको बताउने गरेको भए पनि सुर्तीजन्य पदार्थ बिक्री वितरण रोकिएको छैन । १८ वर्षमुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने कानुनी व्यवस्था भए पनि सिमित नाफाको लोभमा व्यवसायीले बालबालिकालाई समेत निर्वाधरुपमा सुर्तीजन्य पदार्थ बेचिरहेका छन् । विद्यालय तथा क्याम्पस वरपरका अधिकांश किराना पसल र चिया–खाजा खाने होटल चुरोट सेवन गर्ने उपयुक्त थलो बनेको छ । स्कूल तथा कलेजमा अध्ययन गर्ने बालबालिका तथा किशोरकिशोरीहरु विद्यालय पोशाकमै चुरोट सेवन गरेर बस्ने अवस्थालाई बेवास्ता गर्नु हुँदैन । सडक, होटल, पार्कलगायत सार्वजनिक स्थानमा चुरोटलगायत सुर्तीजन्य पदार्थ सेवन गर्न ऐनले निषेध गरेको भए पनि अधिकांश होटलमा खुलेआम चुरोट खाने र बेच्ने गरिएको पाइन्छ । आफ्नो व्यवसाय चलाउनकै लागि व्यवसायीले कानुनी व्यवस्था उल्लंघन गर्दा समस्या भइरहेको छ ।
सुर्तीजन्य पदार्थको उत्पादन, बेचबिखन तथा उपभोगमा उचित नियमन गर्न नसक्दा दिनानुदिन समस्या बढ्दै गएको छ । सरकारले सार्वजनिक ठाउँमा धुमपान गर्न बन्देज लगाए पनि त्यसको नियमन र नियन्त्रण हुन नसक्दा वरपर बस्नेलाई समेत असर पुग्ने गरेको छ । निषेधित क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवन गर्नेलाई कानुनी कारबाही गर्नु आवश्यक छ । नियमनकारी निकायबाट आक्कलझुक्कल हुने सचेतनामूलक कार्यक्रम र अनुगमन प्रभावकारी हुन सकिरहेको छैन । निषेधित क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउनुको विकल्प छैन । निषेधित क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरण नियमन गर्नुका साथै सेवन गर्नेलाई पनि कानुनबमोजिम कारवाही गर्नु आवश्यक देखिन्छ ।