अखिल नेपाल फुटबल संघ (एन्फा) ले १६ वर्ष र १९ वर्ष उमेर समूहको राष्ट्रिय टिम तयार पार्न जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरको छनोट प्रक्रिया सञ्चालन गरिरहेको छ । फुटबलको उर्वरभूमि मकवानपुर जिल्लामा साउन पहिलो साता र दोस्रो साता क्रमशः १६ वर्ष र १९ वर्ष उमेर समूहको खेलाडी छनोट गरिएको छ । १६ वर्ष उमेर समूहमा १ सय ९२ जना सहभागीमध्ये जिल्लाबाट २८ जना छनोट गरी प्रदेशमा सहभागी गराउँदा प्रदेशबाट १२ जना राष्ट्रिय छनोटमा सहभागी हुँदैछन् । यस्तै १९ वर्ष उमेर समूहको छनोटमा सहभागी १ सय २१ जनामध्ये जिल्लाबाट ४१ जना छानिएका छन् । जिल्लाबाट छानिएका किशोर खेलाडी प्रदेश हुँदै राष्ट्रिय छनोटमा सहभागी हुनेछन् । उमेर समूहको फुटबल खेलाडी छनोटको संयोजक समेत रहनुभएका एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठसँग खेलाडी छनोटकै विषयमा रहेर समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः मकवानपुरका युवामा फुटवलप्रतिको रुचि, आकर्षण कस्तो पाउनुभयो ?
श्रेष्ठः पहिले हेरी अहिलेको युवाहरुमा धेरै नै रुचि बढेको छ । यसलाई निरन्तरता दिन सकियो भने मकवानपुरमा धेरै खेलाडिहरु बढ्ने सम्भावना देख्छु ।
समाजः १६ वर्ष र १९ वर्ष उमेर समूहमा जिल्लाबाट छनोट भएर गएका खेलाडीहरुको अबको प्रक्रिया के हुन्छ ?
श्रेष्ठः अहिले १६ वर्ष उमेर समूहका खेलाडीको राष्ट्रियस्तरको छनोट हुँदैछ । जिल्लाबाट छनोट भएकाहरु प्रदेशस्तरीय छनोट हुँदै राष्ट्रियस्तरको छनोटमा सहभागी हुनेछन् । यस्तै १९ वर्ष उमेर समूहका ४१ जना खेलाडी जिल्लाबाट छनोट भएका छन् । उनीहरुलाई प्रदेशस्तरीय छनोट खेलमा सहभागी हुन हामी आगामी शनिबार काठमाडौं पठाउने छौं । अहिले उनीहरु हेटौँडामै प्रशिक्षणमै छन् ।
समाजः १६ वर्ष उमेर समूहका छनोट भएका खेलाडिहरु त काठमाडौं गए । १९ वर्ष उमेर समूहका खेलाडी पनि आउँदो शनिबार काठमाडौं जाँदैछन् । फुटबल खेल्न रुचि भएका तर, राष्ट्रिय टिममा समेटिन नसकेका खेलाडीलाई जिल्लामै नियमित प्रशिक्षण दिने व्यवस्था गर्न सकिन्छ ?
श्रेष्ठः उमेर समूहको छनोट खेलमा सहभागी हुन टाढा–टाढाबाट, गाउँपालिकाबाट खेलाडी आएका छन् । उनीहरुलाई एउटै ठाउँमा राख्न सक्ने अवस्था पनि छैन । ए डिभिजन क्लबमा आवद्ध भएर मकवानपुर जिल्लाका उल्लेख्य संख्यामा खेलाडीहरु फुटबल खेलिरहेका छन् । यो विषयमा मकवानपुर जिल्ला फुटबल संघले नै चासो दिनु पर्छ । यत्तिको रुचि राखेर खेल्न आउने खेलाडीलाई नियमित प्रशिक्षण दिन सक्यौं भने धेरै राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ ।
समाजः तपाई एन्फाको प्रशिक्षक हुनुहुन्छ । तपाईले नियमित प्रशिक्षण पनि गराइरहनुभएको छ । ति रुचि राख्ने खेलाडीलाई नियमित प्रशिक्षणमा सहभागी हुनका लागि तपाइँले के सुझाव दिनुभएको छ ?
श्रेष्ठः मैले हेटौँडा–१० स्थित वनविज्ञान क्याम्पसको खेल मैदानमा नियमित प्रशिक्षण गराइरहेको छु । हिजो छनोट भएका खेलाडीहरुलाई समय मिलेमा नियमित प्रशिक्षणमा आउनु भनेको छु । निशूल्करुपमा प्रशिक्षण दिइरहेको छु । जिल्लाबाट प्रदेशस्तरीय छनोटमा सहभागी हुन नसकेका उल्लेख्य संख्याका किशोर खेलाडीलाई प्रशिक्षणमा आउन भनेको छु । सिक्न चाहने खेलाडीलाई सिकाउन म तयार छु ।
समाजः १६ वर्ष र १९ वर्ष उमेर समूहको छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीका अभिभावकको उपस्थिति कस्तो पाउनुभयो ?
श्रेष्ठः अभिभावकहरु आफ्ना बच्चालाई खेलाउन लागी पर्नु भएको अवस्था छ । कोहि अभिभावकहरु त बच्चासँगै काठमाडौंसम्म पुग्नुभएको छ । उहाँहरु त्यहीँ एन्फामा बसे र खेलेको हेरिरहेको अवस्थासम्म छ । अभिभावकहरु आफ्ना बच्चालाई राम्रो खेलाडी बनाउन इच्छुक हुनुहुन्छ । यो खेलकुदको विकासका लागि सकारात्मक विषय हो ।
समाजः छनोट भएका खेलाडीलाई नियमित प्रशिक्षण गराउन मुख्य समस्या के छ ?
श्रेष्ठः एउटा त एन्फाले पहल गर्नु पर्यो । मकवापुरमा खेलमैदानको समस्या छ । भाईबहिनीलाई नियमित खेल्ने स्थान पनि तोकिदिनु पर्यो । खेल मैदान मात्रै भयो भने पनि धेरै सजिलो हुन्थ्यो ।