हेटौँडाः हेटौँडा उपमहानगरका सामुदायिक विद्यालयमा अहिले प्रथम चौमासिक परीक्षा चलिरहेको छ । साउन ९ गतेदेखि सुरु भएको प्रथम त्रैमासिक परीक्षा पर्सी मंगलबारबाट सकिँदैछ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाले परीक्षाको व्यवस्थापनमा सहजीकरण गरिरहेको छ । हेटौँडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भरत पोखरेलले प्रथम त्रैमासिक परीक्षा सकिएपछि सामुदायिक विद्यालयमा पठनपाठन बन्द रहने जानकारी दिनुभयो ।
साउन १७ गते मंगलबारदेखि भदौ २ गतेसम्म पठनपाठन बन्द हुनेछ । भदौ १ गते शुक्रबार स्थानीय बिदा दिने गरी विद्यालयहरुले ३ गतेदेखि मात्र पठनपाठन सुरु गरिने उहाँको भनाई छ । पोखरेलले भन्नुभयो, “यसअघि परीक्षालाई जोड दिएका कारण लामो समयको बिदामा विद्यार्थीलाई के गर्न दिने भन्ने कार्ययोजना निर्माण भएको छैन । एक हजार ४ सय ८४ जना विद्यार्थीले प्रथम त्रैमासिक परीक्षा दिइरहेको र एकजना बिरामीका कारण परीक्षामा अनुपस्थित भएको पोखरेलले बताउनुभयो । यस्तै भूटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव दाहालले लामो समयको बिदामा कक्षा–१० का विद्यार्थीका लागि पठनपाठन संचालन गरिने तयारीमा रहेको जानकारी दिनुभयो ।
यसैगरी हेटौँडा–१, चाईनाक्वाटरस्थित अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले मंगलबार परीक्षा सकिएपछि बुधबार एसईई उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेर मात्र विद्यालय बन्द गरिने जानकारी दिनुभयो । करिव आधा महिना विद्यालय बन्द हुने र सोही समयमा कुनै पनि अतिरिक्त कक्षा संचालन नगरिने उहाँको भनाई छ । ५ सय भन्दा बढी विद्यार्थी अध्ययरत् अमर माविमा करिव ७० जना विद्यार्थी परीक्षामा अनुपस्थित रहेको बताउनुभयो । बिरामी र विभिन्न कारण देखाउँदै विद्यार्थी प्रथम त्रैमासिक परीक्षामा सहभागी नभएको उप्रेतीको धारणा छ ।
हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक सागरप्रसाद खतिवडाले बिदाकोे समयमा माथिल्लो कक्षाका विद्यार्थीलाई परियोजना कार्य गर्न दिएको जानकारी दिनुभयो । विषयगत रुपमा फरक–फरक कार्य हुने उहाँको भनाई छ । नेपाली विषयको हकमा भने जीवनी, कथा, पत्रपत्रिकाको समिक्षात्मक टिप्पणी गर्न आग्रह गरिएको बताउनुभयो । एक हजार ४ सय ७० जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । तर १÷२ जना विद्यार्थी भने परीक्षामा अनुपस्थित भएको जानकारी दिनुभयो ।
कक्षा–९ मा अध्ययनरत् छात्रा सुभिना पराजुलीले परीक्षा ठिकै भइरहेको बताउनुभयो । यसअघि शिक्षकहरुले परीक्षाको तयारीलाई जोड दिनुभयो । “अब दुई हप्ता बिदा हुन्छ । बिदाको समयमा घरमा के गर्ने भन्ने विषयमा अहिले कुनै कार्ययोजना दिनुभएको छैन । पराजुलीले भन्नुभयो”, परीक्षाको अन्तिम दिन शिक्षकहरुले गृहकार्य गरेर आउनु भन्नुहुन्छ कि हालसम्म पढेका विषयवस्तुलाई पढेर आउनु भन्नुहुन्छ थाहा छैन ।” यस्तै कक्षा–६ का छात्र रोजन उपाध्यायले परीक्षा राम्रो भइरहेको जानकारी दिनुभयो । अहिलेसम्म शिक्षकहरुले कुनैपनि कार्ययोजना दिनुभएको छैन । जसले गर्दा बिदाको समयमा अध्यायनलाई जोड दिने उहाँको भनाई छ ।