हेटौँडाः जिल्ला प्रशासन कार्यालय मकवानपुर अगाडि निर्माण व्यवसायीले धर्ना दिएका छन् । आइतबार बिहान केन्द्रीय कार्यक्रम अनुरुप प्रशासन कार्यालय अगाडि निर्माण व्यवसायीले निर्माण सम्पन्न कामको भुक्तानी दिन माग गर्दै धर्ना दिएका हुन् ।
व्यवसायीले सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाहरूको एकमुष्ट रूपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने माग राखेका छन् । अत्याधिक र अप्रत्याशित रूपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने व्यवसायीको माग रहेको छ । रुग्ण आयोजनाहरू अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवम् काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैंक ग्यारेण्टी जफत गर्ने लगायतका कारवाही रोकिनुपर्ने भन्दै धर्ना दिएका हुन् ।
बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनु पर्ने, श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मुल्य अभिवृद्धिकरको बाँकी बक्यौता रकम समयमा राजस्व खातामा दाखिला गरिनु पर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनु पर्ने र कानूनमा संशोधन गरिनु पर्ने भन्दै व्यवसायीहरु धर्ना बसेका हुन् ।
धर्नामा व्यवसायीहरुले बैैंक होल्डिङ चार्ज खारेज गर्न, सम्पूर्ण ठेक्काको एकमुष्ठ म्याद थप गर्न, अव्यवहारिक माइलस्टोन खारेज गर्न र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन गर्न माग गरिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । धर्नामा निर्माण व्यवसायी संघ मकवानपुरका कार्यवाहक अध्यक्ष सागर कटुवाल, महासचिव राजेन्द्र प्रसाद चौलागाई, कोषाध्यक्ष अनल श्रेष्ठ लगायत निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो ।