कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेता काशीनाथ अधिकारी ।

हेटौँडाः नेकपा एमाले स्थायी कमिटी सदस्य तथा केन्द्रीय संगठन विभागका प्रमुख काशिनाथ अधिकारीले नेपाली राजनीतिमा निर्णायक तथा आदर्श पार्टी निर्माण गर्ने अभियानमा रहेको बताउनु भएको छ । ४५ औं पुष्पलाल स्मृति दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा नेता अधिकारीले बलियो एमाले मुलुककै आवश्यकता भएको दावी समेत गर्नुभएको छ ।

उहाँले समाजवादमा पुग्न, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै राष्ट्रियता, विकास र समृद्विका लागि मुलुकमा नेकपा एमालेको नेतृत्व बिना सम्भव नहुने पनि जीकिर गर्नुभएको छ । नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानबारे चर्चा गर्नुहुँदै नेता अधिकारीले पार्टी स्थापना गर्नु, पार्टी निर्माणमा वैचारिक आधार खडा गर्नु र लोकतन्त्रका लागि संयुक्त जनआन्दोलनको प्रस्ताव महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । पुष्पलालले संयुक्त जनआन्दोलनको प्रस्तावलाई नेपाली काँग्रेसले अस्वीकार गर्दा मुलुकमा २०१७ सालको निरंकुश शासन आएको स्मरण गर्नुहुँदै नेता अधिकारीले भन्नुभयो, “काँग्रेसले संयुक्त जनआन्दोलनको प्रस्ताव स्वीकार्दा २०४६ र २०६२÷०६३ सालको जनआान्दोलन सफल भएको, लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भएको हो ।”

पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै नेताहरु ।

कार्यक्रममा पोलिटव्यूरो सदस्य तथा मकवानपुर इञ्चार्ज देवि ज्ञवालीले दुःख, कष्ट र संकटमा जो टिक्न सक्छ त्यहि नेता हुने उल्लेख गर्नुभयो । उहाँले दुख, कष्ट र संकटमा टिक्नका लागि पुष्पलालको जीवनबाट सिक्नुपर्ने बताउनु भयो । उहाँले मकवानपुर जिल्लामा नेकपा एमाले बलियो पार्टी बनाउने र पहिलो बन्ने दावी गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य रामेश्वर रानाले पुष्पलालले युवा अवस्थामा विचार, संगठन र संघर्ष कम्युनिष्ट आन्दोलनलाई विशेष योगदान दिनुभएको बताउनु भयो । उहाँले क्रान्तिको शत्रु र मित्र छुट्याएर सही वर्ग विश्लेषण गर्नुभएको भन्दै आजको एमाले पुष्पलालको विरासत भएको बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र, मकवानपुरका जिल्ला सदस्यहरू दिलबहादुर दोर्जे पाख्रिन, गंगा भट्टराई, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिना, राजप्रकाश भण्डारी, भरत लामिछाने, राजेश्वर दाहाल, जानुका सञ्जेल, विष्णुमाया सापकोटा, गोविन्द देवकोटा, बकैया गाउँपालिका कमिटीका सदस्य कृष्ण बहादुर भोलनलगायत प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले जानकारी दिनु भएको छ ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, केन्द्रीय निर्वाचन कमिटीका सदस्य अनन्त पौडेललगायतले मन्तव्य राख्नु भएको थियो ।