अन्तरक्रियामा सहभागीहरुको तस्वीर ।

हेटौँडाः राष्ट्रिय युवा नीतिसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया बुधबार हेटौँडामा भएको छ । राष्ट्रिय युवा परिषद्, नेपाल नेत्रहिन संघ र राइट हेयर राइट नाउ नेपालको संयुक्त आयोजनामा अन्तरक्रिया भएको हो । अन्तरक्रियामा सहभागीले ५ वटा समूह बनाएर युवा नीतिका ५ आधारस्तम्भलाई आधार बनाई आवश्यक सुझाव प्रस्तुत गरेका थिए ।

युवा लक्षित कार्यक्रम, युवाका लागि रोजगारी, उद्यम तथा सीप विकासको क्षेत्रमा गर्नुपर्ने कामका बारेमा अन्तरक्रियामा सहभागी युवाले सुझाव पेश गरेका थिए । अन्तरक्रियाअघि राष्ट्रिय युवा परिषद्का प्रमुख नवराज निरौलाले युवा नीतिका बारेमा जानकारी गराउनुभएको थियो । वर्तमान संविधानभन्दा अघि नै २०७२ सालमा राष्ट्रिय युवा नीति जारी भएकोले कतिपय सन्दर्भलाई नीतिले समेट्न नसकेको निरौलाले बताउनुभयो । अन्तरक्रियाका क्रममा संकलित सुझावलाई युवा नीतिमा समेट्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास महाशाखाका प्रमुख खुबीराम अधिकारीले संघ, प्रदेश र पालिका तीनै तहमा युवा परिषद्को परिकल्पना गरिएको जानकारी दिनुहुँदै जिल्लामा संघ र प्रदेश दुवै मातहतको युवा परिषद् स्थापित हुनु अस्वभाविक भएको बताउनुभयो । प्रदेश सरकारले युवालाई ज्ञान, सीप र दक्षतायुक्त बनाउन आवश्यक कार्य गर्न बजेट विनियोजन गरेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल नेत्रहिन संघका कार्यक्रम अधिकृत नीर श्रेष्ठले अपाङ्गता भएका युवाको सन्दर्भमा संवेदनशील भएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।