तस्बिरः गुगल ।

हेटौँडाः बागमती प्रदेशको ४ जिल्लामा खोलामा डुबेर ४ जनाको मृत्यु भएको छ । चितवन, काभ्रे, दोलखा र सिन्धुलीमा ४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१७, लप्टनडाँडा पोखरीमा डुबी ६ वर्षीय प्रिन्स सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार सुनार आफ्नै घर नजिकै खेलिरहेको अवस्थामा अचानक चिप्लिएर पोखरीमा खस्दा गम्भीर घाइते भएका थिए । घाइते सुनारलाई उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा ३ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, काभ्रे जिल्लाको रोशी गाउँपालिका–७, लासकोट खोलामा एक जना पुरुषको शव फेला परेको छ । शनिबार साँझ ५ बजेर ३५ मिनेटको समयमा लासकोट खोलामा परिचय नखुलेको पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–४, गुस्ठीमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा बैतेश्वर गाउँपालिका–३ पाईले घर भई हाल गुस्ठीमा काम गरी बस्ने ४६ वर्षीय गोपाल खड्का रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो ४ बजेको समयमा खड्का पोखरीमा डुबिरहेको अवस्थामा फेला परेका थिए । खड्कालाई पोखरीबाट उद्दार गरी उपचारका लागि लालिगुँरास कम्युनिटी अस्पताल बैतेश्वरमा लगेकोमा डाक्टरले ४ बजेर ४० मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–२, भलुवाहीमा खोलामा डुबेर ८ वर्षीय आयुष कुमार रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार कुमार घरदेखि पर कमलाखोलामा नुहाउने क्रममा खोलामा डुबेर अचेत अवस्थामा फेला परेका थिए । कुमारलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।