पुस्तक चर्चामा उत्कृष्ट तीन विद्यार्थीहरु पुरस्कृत भएपछि ।

हेटौँडाः २१० औँ भानु जयन्तीको अवसरमा शुक्रबार हेटौँडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन माविमा पुस्तक परिचर्चा कार्यक्रम भएको छ । नवोदय साहित्यिक बगैंचा बाल क्लबको आयोजनामा भएको प्रतियोगितात्मक पुस्तक परिचर्चा कार्यक्रममा ७ वटा विद्यालयबाट ७ जना विद्यार्थी सहभागी थिए । आफूले अध्ययन गरेका जुनसुकै पुस्तकको चर्चा गर्न सकिने कार्यक्रममा सहभागीमध्ये ३ जनाले भानुभक्तकै विषयमा लेखिएको पुस्तकको चर्चा गरेका थिए ।

प्रतियोगितामा जीएस निकेतन माविकी निमिषा निरौला, आधुनिक राष्ट्रिय माविकी भूमिका ओझा र नवोदय शिशु सदन माविकी स्तुति गुरागाईं उत्कृष्ट तीन घोषित हुँदै पुरस्कृत भएका छन् । उत्कृष्ट तीनमा पर्न सफल सहभागीसँगै कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई पुरस्कारस्वरुप पुस्तक प्रदान गरिएको छ । क्लबकी अध्यक्ष विदुषी हुमागाईको अध्यक्षता तथा साहित्यकार ह्यग्रीव आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार निमेष निखिल र छवि अनित्यले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । यस किसिमको प्रतियोगिताले विद्यार्थीले नयाँ नयाँ कुरा सिक्ने अवसर प्राप्त हुने क्लबकी अध्यक्ष विदुषी हुमागाईले बताउनुभयो । कार्यक्रममा नवोदय साहित्यिक बगैंचा बाल क्लबकी संस्थापक अध्यक्ष ईलिशा पराजुलीको पनि आतिथ्य रहेको थियो ।