फाइल तस्बिर

हेटौँडाः हेटौँडामा जारी विजय युथ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमीफाइनल खेल अनिर्णित बनेको छ । बुधबार आयोजक विजय युथ क्लब र चाइना पब्लिक युथ क्लबबीचको दोस्रो सेमीफाइनल खेलको दोस्रो हाफ सञ्चालन गर्ने क्रममा रातपरेपछि अनिर्णित बनेको हो ।

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलको पहिलो हाफमा आयोजक विजय युथ क्लब १–० ले अगाडि थियो । पहिलो हाफको १६ औं मिनेटमा विजय युथका लागि मुसाले गोल गरेका थिए । रात परेपछि सञ्चालन हुन नसकेको दोस्रो हाफको खेल बिहीबार बिहान हुनेछ । यसअघि पहिलो सेमीफाइनलमा पदमपोखरी युनाइटेडले हेटौँडा फुटबल एकेडेमीलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा, नगद १० हजार, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल असार १५ गते हुनेछ ।