शैक्षिक सामग्री प्रदर्शनीमा सहभागी हुन हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले जारी गरेको सूचना ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले सूचना जारी गरेको तीन दिनमै नगरस्तरीय शैक्षिक सामग्री प्रदर्शनीको आयोजना गर्दैछ । असार १२ गते सूचना जारी गरेर महाशाखाले असार १५ गते प्रदर्शनी गर्ने जनाएको छ । असार १३ गते दिनको १ बजेभित्रै सहभागी हुन चाहने विद्यालयलाई निवेदन दर्ता गराउन भनिएको छ ।

नगरभित्र सामुदायिक र संस्थागत गरी १ सय १० भन्दा बढी शैक्षिक संस्था छ भने प्रदर्शनीमा २० वटा मात्रै स्टल रहने उल्लेख गरेको छ । हेटौँडा–१६, हटियास्थित जनप्रिय माविमा आयोजना गर्ने भनिएको प्रदर्शनी विषयगत हुने बताइएको छ । शैक्षिक सामग्री प्रदर्शनीमा २० भन्दा बढी स्टल सहभागी हुने अवस्थामा महाशाखाले छनोट गर्ने उल्लेख गरिएको छ । महाशाखाले आर्थिक वर्षको अन्तिममा हतारमा प्रदर्शनीको आयोजना गरेको देखिन्छ । एक दिनको अवधि दिएर सहभागी हुन आव्हान गरिएको कार्यक्रममा कस्ता शैक्षिक सामग्री प्रदर्शनीमा समावेश होला ? शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जनप्रिय मावि पुग्नु पर्नेछ ।