हेटौँडाः बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटप्रति हेटौँडा उपमहानगरपालिकाका वडा अध्यक्षहरुले आपत्ति जनाएका छन् । प्रदेशको राजधानी भएको उपमहानगरकै वडाहरुलाई उपेक्षा गरेर बजेटमा कुनै पनि कार्यक्रम नसमेटिएको भन्दै उनीहरुले शनिबार पत्रकार सम्मेलन नै गरेर आपत्ति जनाएका छन् ।
प्रदेशसभा सचिवालय नै भएको १० नम्बर वडा अध्यक्ष फूर्वा दोर्जे लामाले प्रदेश सरकारले नियतबस बजेट नराखेको दावी गर्नुभयो । प्रदेश सभा सचिवालय, मन्त्रालय, प्रतिष्ठान भएको वडाका लागि भनेर बजेटले कुनै पनि सम्बोधन नगर्नु आश्चर्यको विषय भएको उल्लेख गर्नुहुँदै वडाअध्यक्ष लामाले भन्नुभयो, “यसरी राजधानी भएको पालिकाको वडालाई नै बजेट नछुट्याउनुले प्रदेशको राजधानी नै सार्ने षड्यन्त्र पो भयो कि भन्ने आशंका भएको छ ।” बजेटले सम्बोधन गर्न नसकेको भन्दै वडाअध्यक्षहरुले आन्दोलन नै गर्ने चेतावनी समेत दिएका छन् ।
हेटौँडा–१९ का वडाअध्यक्ष नरनाथ सुवेदीले २ लाख रुपैयाँसम्मका खुद्रे योजना बाँड्ने प्रदेश सरकारले प्रदेशकै राजधानी भएको पालिकालाई बजेट नराख्नु गलत भएको बताउनुभयो । “पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९ मा ग्रीनपार्क, सार्वजनिक शौचालयहरु सञ्चालनमा छन् । हेटौँडा–१९ हुँदै राष्ट्रिय राजमार्ग र कैलाश गाउँपालिकाबीच सहज पहूँचका लागि सडक निर्माणका लागि पनि प्रदेश सरकारले बजेट उपलब्ध गराउने अपेक्षा गरेको थिएँ”, वडाअध्यक्ष सुवेदीले भन्नुभयो, “प्रस्ताव गरिएका कुनै पनि योजनालाई समावेश नगर्नु आपत्तिको विषय हो ।”
हेटौँडा उपमहानगरका वडालाई बजेट विनियोजन नगरेको विषयमा उपमहानगरले नै आधिकारिक धारणा राख्नुपर्ने विषयमा वडा अध्यक्षहरुले नगरप्रमुख र उपप्रमुखलाई जानकारी गराइसकेको १४ नम्बर वडाअध्यक्ष दीपक खड्काले जानकारी दिनुभएको छ । पत्रकार सम्मेलनमा ५ नम्बर वडाअध्यक्ष सुशील घिमिरेले प्रदेश खेलकुद प्रतियोगिताको आयोजना गरिएको पिप्ले–क्याम्पा रंगशालाका लागि ३० लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको भन्दै दुख व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा ११ नम्बर वडाअध्यक्ष जुना दाहाल, १३ नम्बर वडा अध्यक्ष पेम्बा लामा, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तानको पनि उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा एमालेबाट निर्वाचित वडा अध्यक्षहरु मात्रै सहभागी थिए ।