महिला ग्रामीण सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रमा बोल्नुहुदै उपमेयर राजेश बानियाँ ।

हेटौँडाः हेटौँडा–५ स्थित ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले आर्थिक वर्ष २०७९–०८० को सामाजिक परीक्षण गरेको छ । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्य तथा ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष सुलोचना स्याङ्तानको सभाध्यक्षतामा सामाजिक परीक्षण कार्यक्रम भएको हो ।

ग्रामीण महिला सेवा केन्द्रले प्लान इन्टरनेशनलसँग सहकार्य गरेर सामाजिक व्यवहार परिवर्तनसम्बन्धी परियोजना सञ्चालन गर्दै आएको छ । कार्यक्रममा केन्द्रका संयोजक दीपक न्यौपानेले आर्थिक वर्ष २०७९–०८० को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख बानियाँले ग्रामीण महिला सेवा केन्द्रले सामाजिक क्षेत्रमा राम्रो काम गर्दै आएको बताउनुभयो । ग्रामीण महिला सेवा केन्द्रलाई गाउँ–गाउँ गएर राम्रो काम गर्न उपप्रमुख बानियाँले आग्रह गर्नुभयो । जनताको माग धेरै भएकोले सामाजिक काम गर्दा धेरै अपजस आउने गरेको बताउँदै आफु पारदर्शी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । नगरमा पहिलेको भन्दा बजेट घटे तापनि महिला, बालबालिका, किशोरकिशोरीको क्षेत्रमा बजेट छुट्याएको बताउनुभयो ।

बालबालिकाहरुले ग्रामीण महिला सेवा केन्द्रमा आवद्ध भएर सिक्ने अवसर पाएको, विभिन्न कार्यक्रममा प्रतिनिधित्व गर्ने अवसर पाएको, आफ्ना समस्या सरोकारवाला समक्ष राख्न सक्ने क्षमता वृद्धि भएको र अगाडि बढ्ने क्रममा केन्द्रले सहयोग गरेको बताएका छन् । यस्तै, केन्द्रकी अध्यक्ष स्याङ्तानले ग्रामीण महिला सेवा केन्द्र र प्लान इन्टरनेशनलबीचको सहकार्य सकिएको जानकारी गराउनुभयो । ग्रामीण महिला सेवा केन्द्र आगामी दिनमा स्थानीय तहहरुसँग सहकार्य गरेर जान आवश्यक रहेको उहाँको भनाइ थियो ।