हेटौंडाः दुई साताअघि हेटौंडा–१५, जाँतेमा विषादी सेवनबाट बिरामी भएका एक जना अस्पतालबाट डिस्चार्ज भएका छन् । जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले आफ्ना दुई सन्तानलाई विष पिलाएर आफूले पनि विष पिएकी थिइन् । विषादी सेवनबाट गम्भीर भएका पाख्रिनकी ७ वर्षीय छोरा अस्किन वाईबा उपचारपछि डिस्चार्ज भएका हुन् ।

विषादी सेवनबाट पाख्रिनकी १८ महिनाको छोरा जेनिस वाईबाको भने भोलिपल्ट नै उपचारको क्रममा मृत्यु भएको थियो । पाख्रिनको अहिले चितवन मेडिकल कजेजमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

पाख्रिनको स्वास्थ्य अवस्था मध्यम नै रहेको उहाँले बताउनुभयो । निको भएर डिस्चार्ज भएपछि पाख्रिनमाथि जाहेरीका आधारमा मुद्दा दर्ता हुने उहाँले बताउनुभयो । यता कानुन व्यवसायी मोहनप्रसाद ढकालले पाख्रिनविरुद्ध अब कर्तव्य ज्यानको मुद्दा दर्ता हुनसक्ने बताउनुभयो ।

मृत्युको कारण पाख्रिन नै भइसकेपछि कर्तव्य ज्यानमै मुद्दा लाग्ने उहाँले बताउनुभयो । निको भएर डिस्चार्ज भएपछि पाख्रिनलाई कर्तव्य ज्यानको मुद्दा लाग्ने र २५ वर्षसम्मको कैद भोग्नुपर्ने कानुनी व्यवस्था रहेको उहाँले बताउनुभयो ।