हेटौंडाः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी चुनाव जित्न नभई देश जिताउन आएको बताउनुभएको छ । सोमबार मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा आउनुभएका महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
कांग्रेस पार्टीले देशमा जुनसुकै अप्ठ्यारो परेको बेला बाहिर निकाल्ने काम गरेको उहाँको भनाई छ । कांग्रेस समाजको बारेमा सोच्ने पार्टी भएको उहाँले दाबी गर्नुभएको छ । उहाँले राजनैतिक दलमा एमालेको बा, नयाँ पार्टीको भगवान र कांग्रेस पार्टीलाई मानिसको संज्ञा दिनुभएको छ ।
नेपाली कांग्रेसको विधानमा प्रत्येक वर्ष अधिवेशन हुनुपर्ने व्यवस्था रहेको बताउँदै पार्टीले एक वर्षको कार्यतालिका बनाएर अगाडि बढ्नुपर्ने महामन्त्री थापाले बताउनुभयो । पछिल्लो समय नागरिक अतालिएको, आत्तिएको र निरास भएको पाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो– ‘मान्छे आशाले बाँच्छ । सामाजमा आत्माविश्वास घट्दै गएको छ । मान्छेमा निराशा पैदा हुँदै गएको छ । मानिसमा आशा गुमेको छ ।’
कांग्रेस स्थापनाकालमा पार्टीमा चुनाव हुने, सत्तामा जाने भन्ने कुनै कुरा नभएको उहाँले स्मरण गराउनुभयो । कांग्रेसले कानुन निर्माण गर्दा समाज कुन्ठित हुन पर्दैन भनेर कानुन बनाएको उहाँको भनाई छ । अहिले जनताले कांग्रेस पार्टीलाई सत्ता र कुर्सीको पछि लागिरहेको भन्ने बुझेको बताउँदै महामन्त्री टापाले कांग्रेस सत्ता र कुर्सीको लागि नहिँड्ने पार्टी भएको दाबी गर्नुभयो ।
आगामी दिनमा चुनाव हारेपनि कांग्रेसले तालमेल नगर्ने प्रतिबद्धता थापाले जनाउनुभयो । तालमेल गर्दा आफ्नै पार्टीमा समस्या पैदा भएको उहाँको भनाई छ । कांग्रेस जनभावनालाई निरन्तर सुन्ने पार्टी भएकाले देशको नेतृत्व कांग्रेसले गर्ने बताउनुभयो । ठिक ठाउँमा उभिए कांग्रेस राम्रो हुने तर राम्रो काम नगरे कांग्रेस राम्रो नहुने उहाँको भनाई छ । पछिल्लो समय कांग्रेसभित्र गुटको कुरामा बादबिबाद बढ्दै गर्दा कांग्रेसको गुट नभई गिरोह पैदा भएको टिप्पणीसमेत गर्नुभयो ।
कार्र्यक्रममा बोल्नुहुँदै कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले देशमा इतिहास कांग्रेसले बनाएको दाबी गर्नुभएको छ । इतिहासमा एकदलीय शासन व्यवस्थाले गर्दा पञ्चायती शासन हटाएको, बिद्रोह अन्त्य गर्न राजा फाल्ने काम कांग्रेसले गरेको उहाँको भनाई छ । राजनीतिमा कसरी कांग्रेस सुधार्ने भन्ने कुरामा जानुपर्ने बताउँदै बानियाँले गणतन्त्रमा कांग्रेसले जातको पहिचान हुने काम गरेको बताउनुभयो ।
कांग्रेसको विधान नै संशोधन गर्नुपर्नेमा बानियाँले जोड दिनुभयो । पार्टीभित्र चुनावमा जित हुँदा मेरो सान हार्दा अन्तरघात भन्ने प्रविधि रहेकाले त्यो सुधार्नुपर्ने बताउनुभयो । कांग्रेसमा विधानअनुसार काम हुने भएकाले तल्लो तहकाले राम्रो काम गर्नुपर्ने उहाँको भनाई छ ।
पार्टीमा पछिल्लो समयमा हरेक कार्यक्रममा आफूमात्रै ठिक, जान्ने भन्ने पद्धति रहेको नेपाली कांग्रेस जिल्ला सभापति बुद्ध लामाले बताउनुभयो । संघर्ष गरेर पार्टीलाई ठूलो बनाउँदा जस नदिने तर सानो बनाउँदा अपजस दिने काम भएको गुनासोसमेत गर्नुभयो । जनताको चाहना अनुरुपको कार्यक्रम पार्टीले ल्याउनुपर्ने बताउ“दै कांग्रेस सकिने हैन अरुलाई सकाउने पार्टी भएको सभापति लामाले बताउनुभयो ।
कार्यक्रममा कांग्रेस जिल्ला सह–सचिव इन्दिरा न्यौपानेले समानुपातिक प्रणाली नचाहिने बताउनुभयो । महिलाहरुलाई समानुपातिकमा राख्ने र एउटै मानिस धेरै पटक सांसद बनाउने पद्धति भएको उहाँको भनाई छ ।
यस्तै, कांग्रेस राक्सिराङ गाउँपालिका सभापति राजकुमार मल्लले कांग्रेस जनमुखी बन्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस चुनावको बेला पैसा बाँड्ने स्थिति रहेको बताउँदै त्यस्ता गतिविधि अन्त्य गर्न केन्द्रीय तहका नेतामा सुधार आवश्यक रहेको उहाँले बताउनुभयो । कांग्रेसको व्यवस्था राम्रो भएको तर नेतृत्व गर्ने नेता राम्रो नभएको टिप्पणी मल्लले गर्नुभयो ।
कांग्रेस मनहरीका वडा सभापति भीम लामाले हिजोको दिनमा ईन्द्र बानियाँ हराउन गगन थापा लागेको र गगन थापा हराउन पनि ईन्द्र बनियाँ लागेको तर अहिले सँगै भएको बताउनुभयो ।