रदेशस्तरीय अन्तरक्रिया गोष्ठी कार्यक्रमको उद्घाटन गरिँदैको तस्वीर ।

हेटौँडाः बागमती प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी विकास बोर्ड हेटौँडाको आयोजनामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक प्रदेशस्तरीय अन्तरक्रिया गोष्ठी कार्यक्रम हेटौँडामा सुरु भएको छ ।बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यमा २ दिवसीय गोष्ठी मंगलबारदेखि सुरु भएको हो । पहिलो दिन बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले गोष्ठीको उद्देश्य र प्रदेश सहकारी बोर्डले सम्पादन गर्ने कार्यमाथिको कार्यपत्र प्रस्तुत गर्नुभयो ।

यस्तै राष्ट्रिय सहकारी महासंघ अध्यक्ष मीनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसको निराकरणका लागि सरोकारवालाहरुको भूमिका र छाता संघहरुको दायित्वबारे सहजीकरण गर्नुहुनेछ । राष्ट्रिय सहकारी बैंक अध्यक्ष केबी उप्रेतीले सहकारीमार्फत गरिबी न्यूनीकरण तथा सदस्यहरुको आर्थिक उन्नतिका लागि उत्पादन, प्रशोधन, बजारीकरणमा सरकार र सहकारीको भूमिकाबारे सहजीकरण गर्नुहुनेछ ।

नेफ्स्कूनबाट बचत सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपायका लागि सरकार र सहकारीबाट खेल्नुपर्ने भूमिका, सहकारी महाशाखाबाट बागमती प्रदेशमा सहकारीको वस्तुस्थितिबारे सहजीकरण गर्नेछ । दोस्रो दिन बुधबार कार्यपत्र उपर समुह कार्य र प्रस्तुतीकरण, सुझाव, साझा अवधारणा निर्माण गरी गोष्ठीको समापन गरिने बताइएको छ ।