साहित्यिक एवम् साँस्कृतिक कार्यक्रममा सहभागीहरु ।
संप्रस पौडेल

आँचल साहित्य कलापुञ्ज हेटौँडाले एउटा सभ्य र भव्य कार्यक्रम आयोजना गरेको छ । जहाँ हास्यव्यङ्ग्य विधालाई संस्थागत गर्दै गइरहेको सिस्नुपानी मकवानपुरको संयोजनमा हास्यव्यङ्ग्य प्रस्तुती गर्ने अवसर मिल्यो । आँचलले नृत्यमार्फत् विद्यालयलाई र गायनमार्फत गायक कलाकारलाई जोड्न सफल भयो । म त खुशीले गद्गद् छु ।

सरोकारवालाहरूसामू लैङ्गिक मुद्दाका विभिन्न बहसहरू चले । कार्यक्रममा कमजोरी नहोस् भनी आँचलका सदस्यहरूको सक्रिय दौडधुप अनुकरणीय रह्यो । संस्था चलाउन त्यसभित्रका मानिसहरू एउटै मेलोमा दौडिनु पर्छ भन्ने यही संस्थाबाट सबैले सिक्न जरूरी छ । हामी सर्जकबीच केही समस्या छ भने त्यो आफ्नो विद्वता, सिर्जना र “सिनियर र जुनियर” भन्ने कुरा नै हो । तर यो सबैले आत्मबोध गर्न सक्ने कुरा भने होइन ।

साँस्कृतिक कार्यक्रममा नृत्यु प्रस्तुत गरिँदै ।

हामीले बिर्सन नहुने कुरा के हो भने साहित्यिक सर्जकहरू आफू सुनाउन मात्र होइन, सुन्नका लागि पनि तयार हुनुपर्छ । पूराना पुस्ताले नयाँ पुस्तालाई अघि लाउन नसक्ने हो भने नयाँले सँधै बोकिराख्नु पर्छ भन्ने हुँदैन । नयाँ पुस्तालाई सघाउँदै, सिकाउँदै, हौसला दिँदै अघि बढाउँदा सबैको सम्मान हुन्छ । दर्शक दीर्घामा बसेको गुरूलाई मञ्चमा बोलिरहेको शिष्यले म जहाँ छु, वहाँको कारणले भन्यो भने सम्मान हुन्छ तर मलाई मेरै गुरूले यहाँ आउन रोक्दारोक्दै आफ्नो बलबुँताले आएँ भन्यो भने ? यसर्थ संस्थामा सक्रियरूपमा लागिरहँदा लेखनमा ध्यान कम पुग्ने कुरालाई स्वीकार्छु । पहिचान दिलाउन सहज भए तापनि स्वच्छन्द, स्वतन्त्र र यथेष्ट समय लिएर लेखिरहनका लागि संस्थागत आवद्धता बाधक भने हुन सक्छ । तर त्यसले अन्य सर्जकलाई हुर्काइरहेको भने अवश्य हुन्छ ।

बहसमा सहभागीहरु ।

यस अर्थमा म आफूलाई भाग्यमानी ठान्छु, सर्जकहरूको हौसला, माया, सद्भाव र विभिन्न अवसर पाएकै छु । ती सबैप्रति कृतज्ञ छु । उमेरले मभन्दा साना भाइबहिनीहरूलाई पनि सँगसँगै हातेमालो गर्दै लेखनमा अघि बढ्न प्रेरित गर्न सकूँ । धैर्यता, सिक्ने जोश, जाँगर उनीहरूबाट सिक्न सकूँ । यति नबिर्सुँ– हजारौँ मुद्दाको बहस सुनुवाई र न्याय निसाफ गरिसकेका वकील, न्यायाधीश पनि आफूलाई कानूनका विद्यार्थी मान्छन् । कुनै समयको अन्तरालमा साहित्यका धेरै ज्ञान पाइएछ भने पनि पछिल्ला पुस्ता सँगै रमाउन सकूँ । नवराज लम्साल दाइ हाकाहाकी भन्नुहुन्छ नि– म भाइ पुस्ताले बनाएको कवि हुँ ।

नगरप्रमुख मीना कुमारी लामासँग आँचलकी अध्यक्ष भावना सापकोटा (बायाँ) ।

भनाई छ नि– डाक्टरले ५ मिनेटभन्दा बाँच्दैनौ भन्यो भने अरू केही नगर्नू, लेख्नू । साँच्चै पढ्ने लेख्नेहरूको सङ्गत पाउनु अहोभाग्य नै हो । मकवानपुरका साहित्यिक संस्थाहरू निकै सक्रिय छन् । यथेष्ठ कार्यक्रम भैरहेका छन् । संस्था र सर्जकहरूलाई स्थानीय, राष्ट्रिय मिडिया र सम्बद्ध व्यक्तिहरूको राम्रो साथ छ । हेटौँडा उपमहानगरपालिका, यसअन्तर्गतका केही वडा, बकैया गाउँपालिका अति सक्रिय तथा अन्य चाहिँ छिटफूट आदि स्थानीय सरकार अत्यन्तै सर्जकमैत्री देखिएका छन् । अझै धेरैले ढुङ्गा गिट्टीबाहेकका विकासलाई विकास देखेका नै छैनन् । अन्ततः एकमुष्ठरूपमा कार्यक्रम आयोजक, सहयोगी, स्रस्टा, शुभेच्छुकहरूप्रति शुभ पठनको कामना ।