एसियामा नै पहिलो पटक सय वर्षअघि नेपाली इन्जिनियरले बनाएकोसुरुङमार्गबाट वारपार गर्न सकिने भएको छ । बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिरसँगै रहेको चुरे पहाड छेडेर सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले उक्त सुरुङमार्ग बनाएको बताइन्छ ।चुरियामाई सुरुङ विक्रम संवत् १९७४ मै बनेको थियो । नेपालका प्रथम स्नातक इन्जिनियर भनिने थापाले ५ सय मिटर लम्बाइको यो सुरुङ मार्ग डिजाइन गरेका थिए । चुरे पर्वतमा बनेको यो सुरुङ मार्ग साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५ सय मिटर लम्बाइको छ ।

माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङ मार्गबारे स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्गडम अफ नेपाल’मा पनि चर्चा गरेका छन् । उनले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ उल्लेख गरेका छन् । भारतमा पनि नबनेको यस्तो सुरुङ मार्ग नेपालमा देख्दा आफू अचम्मित र खुसी भएको टोनी हेगनले उल्लेख गरेका छन् ।राणाकालमा रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाउरो बाटो बनाउनुको साटो सीधा सुरुङ मार्ग खनेर गाडी चलाइएको थियो । यही सुरुङ मार्ग हुँदै चल्ने गाडीहरुले मकवानपुरको भीमफेदीसम्म समान ल्याउँथे ।

काठमाडौंसम्म जोडिने सडक नभएकाले भीमफेदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान भित्राइन्थ्यो ।प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसैक्रममा यो सुरुङ मार्गको बीच खण्डमा विष्फोट गराएर भत्काएर त्यसैमाथि सडक बनाइएको थियो । दक्षिण एसियाकै पहिलो मानिने यो ऐतिहासिक सुरुङ मार्गको त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले त्यस खण्डलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको हो । फिनिसिङको काम बाँकि रहेकाले सर्वसाधारणलाई प्रवेश अनुमति भने दिइएको छैन । ३ करोड ३६ लाख रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्सनले २०७८ साल वैशाखमा सुरुङ मार्ग पुनर्निर्माणको ठेक्का पाएको थियो । सुरुमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोरोना महामारी, प्राविधिक कठिनाइ लगायतका कारण दुई पटक म्याद थपिएको थियो । पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेका थियो ।

सुरुङ मार्गको सबै काम सम्पन्न भएपछियसलाई हेटौंडा उपमहानगरपालिकाको जिम्मा लगाइदैछ । ऐतिहासिक महत्वको सुरुङ मार्ग भएकाले बागमती प्रदेश सरकारले यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि पुर्ननिर्माण गरेको हो । यस सुरुङ मार्गमा सवारी साधन सन्चालन गर्न दिइनेछैन । यसलाई पर्यटकले अवलोकन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । ऐतिहासिक महत्वको सुरुङ मार्गको पुर्ननिर्माण हुनु र सञ्चालनमा आउनु बागमती प्रदेश सरकारको प्रशंसनीय कार्य हो । मकवानपुरको पर्यटन क्षेत्रको विकासका लागि ऐतिहासिक महत्वको यस सुरुङ मार्ग कोशेढुंगा सावित हुनेछ ।