हेटौँडाः विश्व वातावरण दिवसको अवसरमा सोमबार हेटौँडामा आयोजित विशाल र्यालीमा स्क्र्याप संकलकहरुको पनि सहभागिता रह्यो । विश्व वातावरण दिवसमा सम्भवतः पहिलो पटक स्क्र्याप संकलकहरुको सहभागिता रहेको हो । सामुदायिक विकास तथा सचेतना नेपालको प्रयासमा स्क्र्याप संकलकहरु वातावरण दिवसको र्यालीमा सहभागी भएका हुन् ।
पुनःप्रयोग गर्न सकिने फोहर संकलन गरी फोहर व्यवस्थापनमा सहयोग गर्ने समूहको सहभागिता सान्दर्भिक हुने भएकोले सहभागिताका लागि आवश्यक पहल गरिएको सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँले जानकारी दिनुभयो । र्यालीमा ३० जना स्क्र्याप संकलक सहभागी थिए । उनीहरुले पुनः प्रयोग हुने फोहर संकलनका लागि प्रयोग गर्ने साइकलसहित सहभागिता जनाएका थिए । र्यालीमा स्क्र्याप संकलकको सहभागिताले उनीहरुको सम्मान बढ्ने र आत्मबल बढाउन मद्दत पुग्ने सचिव बानियाँको भनाइ छ । सामुदायिक विकास तथा सचेतना नेपालले आइतबार स्क्र्याप संकलकहरुको समूहलाई र्यालीमा सहभागी हुन आग्रह गरेको थियो ।