अभिमुखीकरण गराउँदैको तस्वीर ।

हेटौँडाः प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा दुई दिने स्थानीय तहहरुका लागि प्रवोधिकरण तथा प्रोत्साहन कार्यक्रम सोमबार समापन भएको छ । कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका १५ वटा स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रदेशका स्थानीय तहहरुबाट नगर वा गाउँपालिका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, प्रशासकीय अधिकृत, पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख, खेलकुद हेर्ने कार्यपालिका सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रमको पहिलो दिन प्रदेश युवा नीति र कार्यक्रम, युवाको परिभाषा र विद्यमान कानुनी व्यवस्था र युवामैत्री स्थानीय शासनको अवधारणाबारे जानकारी गराइएको थियो । दोस्रो दिन स्थानीय शासनको सूचकहरुको विषयमा छलफल गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिनुभयो ।

कार्यक्रममा तिलोत्तम पौडेल,ले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीले आआफ्नो पालिकालाई युवामैत्री बनाउन व्यवस्थित योजना बनाउने बताएका छन् । प्रदेश र संघीय सरकारको साथ र सहयोगमा पालिकालाई युवामैत्री बनाउन कार्यक्रम प्रभावकारी भएको सहभागीले प्रतिक्रिया दिएका छन् । अभिमुखीकरणले युवा लक्षित कार्यक्रम तयार पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । युवाका मुद्दामा चाहेर पनि योजना बनाउन नसकेको उल्लेख गर्दै सहभागीले आगामी दिनमा युवालक्षित प्रभावकारी कार्यक्रम तयार पार्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यमा आइतबार उद्घाटन कार्यक्रम भएको थियो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको पनि आतिथ्य रहेको थियो । स्थानीय तहका हरेक नीतिगत तथा कार्यक्रमगत तहमा हुने गतिविधिमा युवामैत्री वातावरण निर्माण गनर्न सक्दा मात्र त्यसले समग्र शासकीय प्रक्रिया तथा पद्दतिको गुणस्तर अभिवृद्धि हुन जाने उल्लेख गर्नुहुँदै कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले शासन प्रणालीमा युवाको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्दै उनीहरुको नेतृत्वलाई सुनिश्चित गर्दै स्थानीय तहको नीति, संरचना, प्रणाली कार्यप्रक्रिया तथा व्यवहारमा युवाको संलग्नता सुनिश्चित गर्नका लागि युवामैत्री स्थानीय शासन आवश्यक रहेको बताउनुभयो ।