फाइल तस्विर ।

हेटौंडाः चालु आर्थिक वर्ष २०७९/०८० को भुक्तानी लिन मनहरी गाउँपालिकाले आग्रह गरेको छ । गत शुक्रबार एक सूचना जारी गर्दै पालिकाले, विषयगत शाखा, वडा कार्यालय, निर्माण व्यवसायी तथा उपभोक्ता समिति र सरोकारवाला संघसंस्था सबैलाई भुक्तानी लिन आग्रह गरेको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम १ बमोजिम भुक्तानी दिनुपर्ने रकम आर्थिक वर्ष सम्पन्न हुनुभन्दा कम्तिमा ७ सात दिनअगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

कानुनी प्रावधानअनुसार आर्थिक वर्षको अन्तमा कामको चाप बढी हुने, सर्वर पनि डाउन हुन सक्ने र आषाढ मसान्तभित्रै करहरु दाखिला गर्नुपर्ने भएकाले चाँडै भुक्तानी माग गर्न आग्रह गरिएको छ । संघीय सरकार तथा प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरु फिर्ता गर्नुपर्ने र सबै कारोबारहरुको हिसाब मिलान गर्नुपर्ने भएकाले गाउँपालिकाबाट सञ्चालित सम्पूर्ण योजना तथा कार्यक्रमहरु असार १० गतेभित्र पूर्णरुपमा सम्पन्न गरी १५ गतेभित्र भुक्तानी लिन पालिकाले अनुरोध गरेको छ । तोकिएको अवधिमा भुक्तानी नलिई निकासा बन्द भएमा कार्यालय जवाफदेही नहुने ब्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ ।