विद्यालय जीवन हरेक व्यक्तिको सिंगो जीवनकालकै महत्वपूर्ण समय हो । विद्यालय जीवनमा हासिल गरेको शिक्षाको छायाँ नै व्यक्तिको व्यवहारमा जीवनभर प्रकट भइरहेको हुन्छ । मकवानपुरको सार्वजनिक शिक्षामा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय मावि परिचित नाम हो । सामुदायिक विद्यालयमा पनि नमूना शिक्षालयको रुपमा स्थापित आधुनिक राष्ट्रिय माविको जेठ २ गते शुक्रबार वार्षिकोत्सवको सन्दर्भमा सोही विद्यालयमा विद्यालय तहको शिक्षा पूरा गरी अहिले आफ्नै विद्यालयमा अध्यापनरत शिक्षक कृष्णगोपाल श्रेष्ठसँग गरिएको कुराकानीः
समाजः जिल्लाकै नमूना विद्यालयको विद्यार्थी हुँदै अहिले शिक्षकको रुपमा सेवारत हुनुहुन्छ । आफू विद्यार्थी हुँदा र अहिले शिक्षक हुँदा आधुनिक राष्ट्रिय माविको शैक्षिक अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
श्रेष्ठः यस विद्यालयको शैक्षिक अवस्थालाई हेर्ने हो भने यस विद्यालय आफ्नो स्थापनाकालदेखि नै उत्कृष्ट शिक्षा आर्जन गर्ने विद्यालयको रुपमा मकवानपुर जिल्लामा परिचित नाम हो । हामी विद्यार्थी हुँदा यस विद्यालयको प्रतिष्पर्धा भुटनदेवी मावि, सिद्धार्थ माविबीच हुने गर्दथ्यो । अहिले पनि प्रतिस्पर्धा कायमै छ । त्यतिबेलाका विद्यार्थीहरु आफैं अध्ययनशील थिए भने हालका विद्यार्थीहरुमा त्यो स्वभाव पाइँदैन, केही अपवादबाहेक । अहिलेका विद्यार्थीलाई पढ्नका लागि प्रेरणाको आवश्यकता देख्छु । सम्भवतः यो आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा मात्र नभई समग्र सबै विद्यालयको हालको अवस्था हो जस्तो लाग्छ । प्रविधिको विकास सँगसँगै विद्यार्थीहरुको अधिकतम समय प्रविधितिर बितिरहेको तितोसत्य हामीमाझ लुकेको छैन । जस्का कारण विद्यार्थीहरु काल्पनिक संसारमा रमाएर वास्तविक संसारबाट टाढा हुँदै गइरहेको भान भइरहेको छ । तर पनि यस विद्यालयमा हाल अध्ययनरत विद्यार्थीहरु अनुशासित, अध्ययनशील तथा मिहिनेती रहेको देख्दछु ।
समाजः आधुनिक राष्ट्रिय मावि जिल्लाकै नमूना विद्यालय हो । नमूना विद्यालय हुनुको प्रमुख कारण के हो ?
श्रेष्ठः म विद्यालयको समयलाई २ भागमा विभाजन गर्न चाहन्छु । २०५६ साल अगाडि र २०५६ साल पछाडि । यसको प्रमुख कारण विद्यालयलाई नेतृत्व गर्नुहुने प्रधानाध्यापकहरु हुनुहुन्छ । मैले माथि नैं भनिसकेँ कि विद्यालय आफ्नो स्थापनाकालदेखि नै उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुँदै आएको छ । तथापि २०५६ मा आदरणीय गुरु पुरन बहादुर जोशीले विद्यालयको प्रधानाध्यापकको भूमिका निर्वाह गरे पश्चात विद्यालयको स्वर्ण युग शुरुवात भयो । उहाँको नेतृत्वमा विद्यालय मकवानपुर जिल्लैमा पहिलो समुदायमा हस्तान्तरित विद्यालय हुन पुगेको, विद्यालय तहमै पत्रकारिता विषय अध्यापन गराउने देशकै पहिलो विद्यालयको रुपमा आफुलाई चिनाएको, सामुदायिक विद्यालयहरु मध्येबाट तत्कालिन एसएलसी परीक्षामा कम्प्युटर विषयको परीक्षा दिने पहिलो विद्यालय मात्र नभई निरन्तर एसएलसी परीक्षामा जिल्ला प्रथम हुँदै आएको र कुनै वर्ष मध्यमाञ्चल चौथो र नेपाल पाँचौ पनि बन्न सफल भएको थियो ।
पुरन सरकै नेतृत्वमा विद्यालयले थुप्रै सुधारका कार्यहरुको थालनी भएको थियो । कक्षा १ देखि अंग्रेजी माध्यम पनि उहाँकै पालामा शुरु भएको थियो । त्यस पश्चात आदरणीय गुरु ऋषिराम उपाध्याय पोखरेल प्रधानाध्यापक हुनु भयो । उहाँले पनि विद्यालयको शैक्षिक विकासका लागि थुप्रै कामहरु गर्नुभयो । उहाँ एक शैक्षिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको कार्यकालमा पनि शिक्षक–प्रधानाध्यापकबीच कुनै मतभेद देखिएन । सबै कुराहरुलाई आपसी सहमतिमा छलफलको माध्यमबाट गर्ने प्रथाको थालनी गर्नुभयो । तत्पश्चात यस विद्यालयमा वीरवंश वैठा सरले प्रधानाध्यापकको भूमिका निर्वाह गर्दै हुनुहुन्छ । पुरन सरले कक्षा १ बाट शुरु गर्नु भएको अंग्रेजी माध्यमलाई क्रमशः कक्षा ९, १० हुँदै ८, ७ मा माथिबाट तलतिर लैजाने कार्यको अगुवाई बैठा सरले गर्नुभयो । जसका कारण हाल अंग्रेजी माध्यममा उक्त कक्षाहरुमा भर्ना हुन असंख्य आवेदनहरु पर्ने गर्दछन् । त्यति मात्र नभई उहाँकै नेतृत्वमा व्रिटिश काउन्सिलअन्तर्गत इन्टरनेशनल स्कूल अवार्डमा उदाहरणीय कार्य भइरहेको छ । व्रिटिस काउन्सिलकै सहयोगमा विद्यालयमा क्यामेरा सिक भन्ने कार्यक्रम चलिरहेको छ । यिनै कारणहरुले यो विद्यालय नमूना विद्यालयको रुपमा स्थापित हुन पुगेको छ । समग्रमा भन्नु पर्दा शिक्षकहरुको सामूहिक भावना, विद्यार्थीहरुको लगनशीलता, अभिभावकहरुको साथले यो विद्यालय अगाडि बढेको छ ।
समाजः विद्यालयमा शिक्षकको क्षमता विकासका लागि के कस्ता क्रियाकलाप भएको पाउनुभएको छ ?
श्रेष्ठः शिक्षकको क्षमता विकासका लागि विद्यालयमा मागमा आधारित तालिमहरु दिइँदै आएको छ । कुनै तालिममा भाग लिन जानका लागि सवैलाई समान अवसर प्रदान गरिएको छ । प्रविधिमैत्री बनाउन एक शिक्षक एक ल्यापटपको व्यवस्था गरिएको छ । हाललाई यो कार्यक्रम भने स्थायी दरवन्दीमा रहेका शिक्षकलाई मात्र लागु गरिएको छ भने चाँडै नै अन्य शिक्षकहरुलाई पनि प्रदान गर्ने व्यवस्थामा प्रधानाध्यापक बैठा सर लाग्नु भएको छ ।
समाजः विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको भूमिका कस्तो रहने गरेको छ ?
श्रेष्ठः विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको भूमिका एकदमै राम्रो रहेको छ । समय समयमा उहाँहरु विद्यालयमा उपस्थित भई आवश्यक सल्लाह, सुझाव दिने गर्नुहुन्छ । एकमुष्ट अभिभावक भेलामा भने उहाँहरुको उपस्थिति न्यून देखिने हुनाले विद्यालयका प्रधानाध्यापक वीरवंश वैठाले प्रत्येक शनिबार एउटा कक्षाको अभिभावक भेला आयोजना गर्नु भएको छ । त्यस भेलामा भने उहाँहरुको उपस्थिति राम्रै रहेको तथा उक्त भेलाले विद्यालयलाई गर्ने सहयोग रकमको समेत निर्णय गर्ने गर्नु भएको छ ।
समाजः विद्यालयको कुन पक्षलाई अझै सुधार गर्नुपर्ने देख्नुहुन्छ ?
श्रेष्ठः विद्यालयमा विद्यार्थीहरुको चाप अत्यन्तै धेरै रहेको छ । उनीहरुको तुलनामा शिक्षकको संख्या कम छ । यो एउटा समस्या हो भने विद्यालयले विद्यार्थीहरुको अनुपातमा शौचालय, खानेपानी तथा डेस्क बेन्चको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
समाजः जिल्लाका सामुदायिक विद्यालयमध्ये आधुनिक राष्ट्रिय माविमा के के फरक अभ्यास भएको छ ?
श्रेष्ठः अहिले त सबै विद्यालयहरुले थुप्रै सुधारका कार्यक्रमहरु गर्दै आइरहेका छन् । आधुनिक एउटा पायोनियर मात्र बन्यो । यसले सवै विद्यालयबीच शैक्षिक प्रतिस्पर्धाको भावना जागृत गरायो । तथापि फरकै अभ्यास भन्नु पर्दा विद्यालयको परीक्षा प्रणाली आफ्नै छ । सबै कक्षाहरुमा अतिरिक्त पाठ्यपुस्तक अध्यापन गराउँदै आएको छ । कक्षा ११ तथा कक्षा १२ मा छात्रवृत्ति पाई अध्ययन गरेका विद्यार्थीहरुलाई खाजा खर्च दिई स्वयंसेवक शिक्षकको रुपमा खटाइएको छ । जसका कारण कोही शिक्षक अनुपस्थित हुँदा पनि निजको कक्षा खाली रहँदैन । वर्षे विदामा अध्यापन गराउने साथै प्रत्येक शनिबार आवश्कताअनुसार परीक्षा लिने गरेको छ । साथै प्रत्येक शनिबार कक्षास्तरीय अभिभावक भेला पनि सम्पन्न गराउँदै आएको छ ।