पुरस्कृतभए पछि कृषकहरु सामुहिक तस्विर खिचाउँदै ।

हेटौंडाः बागमती प्रदेश सरकारको प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुस्कारबाट ५ जना पुरस्कृत भएका छन् । आइतबार बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास निर्देशनालयले एक कार्यक्रम आयोजना गर्दै ५ जना कृषकहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सम्मानित हुने ५ जनामध्ये ३ जना चितवनका कृषक रहेका छन् भने एक–एक जना ललितपुर र काभ्रेका छन् । बीएण्डबी केरा फार्म सञ्चालन गरिरहेका चितवनको रत्ननगर नगरपालिका–१२ का विष्णुहरि पन्त प्रथम, जनजीविका कृषि तथा पशु फार्म सञ्चालन गरिरहेका ललितपुरको बागमती गाउँपालिका–१ का गोविन्द गौतम द्वितीय र सरोज कृषि फार्म सञ्चालन गरिरहेका चितवनको माडी–६ का सरोज साह तेली तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७० हजार रुपैयाँ, ६० हजार रुपैयाँ र ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।
यस्तै, कुसदेवी कृषि फार्म सञ्चालन गरिरहेका काभ्रेको पनौती–२ का रमेश आचार्य र बिश्रुदेवी एग्रिकल्चर फार्म सञ्चालन गरिरहेका चितवनको भरतपुर महानगरपालिका–१७ का विष्णुबहादुर विश्वकर्मा सान्त्वना भएका छन् । सान्त्वना दुई जनालाई ४० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरिएको छ ।

निर्देशनालयका निमित्त प्रमुख तेजप्रसाद दुवाडी र बागमती प्रदेश कृषि मन्त्रालयका सचिव शरणकुमार पाण्डेले उत्कृष्ट कृषकहरुलाई पुरस्कार वितरण गर्नुभएको छ । बागमती प्रदेश सरकारको प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारका लागि प्रदेशका १२ जिल्लाबाट जिल्लागतरुपमा उत्कृष्ट भएका ३६ जना कृषकहरुको मूल्यांकन र स्थलगत अवलोकन गरी ५ जना कृषकलाई छनौट गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै प्रदेश कृषि मन्त्रालयका सचिव पाण्डेले कृषि क्षेत्रको रुपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ ढङ्गबाट व्यावसायिकरुपमै कृषि व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषकहरुमा भएको समस्या र निराशालाई हटाउनुपर्ने अवस्था रहेको बताउनुभयो । निर्देशनालयका निमित्त प्रमुख दुवाडीले सम्मानित कृषकहरुलाई आप्mनो व्यवसायलाई दिगो बनाउतर्फ लाग्न आग्रह गर्नुभएको छ । अहिले योजना तर्जुमाको कार्य सुरु हुन लागेको बताउनुहुँदै उहाँले कृषकहरुको समस्यालाई सम्बोधन गरिने जानकारी दिनुभयो ।