विवाहपछिको सम्बन्ध सहज हुन नसकेपछि सम्बन्धविच्छेदको स्थिति आउँछ । सम्बन्ध जोड्ने वैवाहिक सम्बन्ध तोड्नुपर्दा पक्कै सहज हुँदैन । अधिकांश महिला वा पुरुषले विवाहअघि सोचेको जस्तो जिन्दगी विवाहपछि हुँदैन । वैवाहिक सम्बन्धसँग मानिस विभिन्न सम्झौतामा बाँधिन पुग्दछ । यसले गर्दा जोकोहीले आफूले सोचेको जस्तो जीवन जिउन र स्वतन्त्र हुन पाउँदैनन् । यसैको निहुँमा वैवाहिक सम्बन्धमा चिसोपन आउँछ । विभिन्न झगडा, कलह तथा अविश्वास बढ्दै जान्छ । वैवाहिक जीवनको असफलताको अन्तिम बिन्दु भनेकै सम्बन्धविच्छेद हुन पुग्दछ । बालविवाह, बहुविवाह, अनमेल/अन्तरजातीय विवाह, प्रेमविवाह, असमझदारी, अपहेलना, गरिबी, सम्पत्ति, रोग, निःसन्तान, शंकालु भावना तथा वैदेशिक रोजगारीजस्ता विविध कारणले हाम्रो समाजमा सम्बन्ध विच्छेदको कारण बनिरहेको छ । यी यावत् समस्याले दाम्पत्य सम्बन्धमा चिसोपना ल्याउँछ र अन्ततः सम्बन्धविच्छेदको अवस्थामा पु¥याउँछ । श्रीमान र श्रीमतीबीच सामान्य मतभेदलाई दुबै मिलेर समाधान गर्न नसक्दा सम्बन्धविच्छेदजस्तो अप्रिय निर्णयमा पुग्नुपर्ने बाध्यता आउने गरेको छ । जसले गर्दा सम्बन्धविच्छेद एउटा गम्भीर सामाजिक समस्या बन्दै गइरहेको छ ।
धेरै कुराहरु सोच विचार गरी जोडिएको सम्बन्ध बिग्रनु, टुट्नु र फाटो आउनु विडम्बना नै हो । मुलुकमा पछिल्लो समय सम्बन्धविच्छेदका घटना निकै बढिरहेको छ । जिल्ला अदालत मकवानपुरमा रहेका मुद्धाहरुमध्ये सम्बन्धविच्छेदको मुद्धा बढी हुनुले पनि यसलाई पुष्टि गर्दछ । गत बिहीबार जिल्ला अदालत मकवानपुरमा पेशीमा चढेका ४२ मुद्धामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै मुद्धा रहनुले सम्बन्धविच्छेद बढ्दै गएको स्पष्ट हुन्छ । बिहीबार फैसला भएका ३ वटा मुद्धामध्ये एउटा सम्बन्धविच्छेदको रहको थियो । सोही दिन पेशी भएका मुद्धामा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्धा ८ वटा रहेको थियो । चेक अनादर र लागूऔषधसम्बन्धी मुद्धा ७–७ वटा हुँदा सम्बन्धविच्छेदको मुद्धा सोभन्दा बढी रहनुले यो समस्या जटिल बनेको बुझ्न सकिन्छ । अहिले दैनिकजसो सम्बन्धविच्छेदका मुद्धाहरु जिल्ला अदालतबाट फैसला हुने गरेको छ ।
सम्बन्धविच्छेद एउटा अप्र्रिय घटना हो । विगतमा सम्बन्धविच्छेदका लागि महिलाको इच्छालाई सर्वोपरि मानिन्थ्यो अर्थात् महिलाको इच्छाबिना सम्बन्धविच्छेदको मुद्धा अघि बढ्दैनथ्यो । अहिले त्यस्तो छैन, पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्धा दर्ता गर्न सक्छ । २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहिता (ऐन)ले सम्बन्धविच्छेदका लागि पुरुषले पनि अदालतमा निवेदन दिन पाउने व्यवस्था गरेको छ । यसले पनि सम्बन्धविच्छेदका घटना बढाउन सहयोग पुगेको अनुमान गर्न सकिन्छ । अहिले महिलामात्र नभई पुरुषहरु पनि सम्बन्धविच्छेदका लागि अदालत धाउन थालेका छन् । यसले हाम्रो समाजमा सम्बन्धबिच्छेद सामान्य विषयजस्तो बन्न थालेको छ । बढ्दो सम्बन्धविच्छेदले हाम्रो परम्परागत सामाजिक विश्वास, प्रेम, सामूहिक भावना, सम्बन्ध र सद्भावमाथि नै गम्भीर सवाल खडा गरेको छ ।
विगतमा विभिन्न हिंसा, अवहेलना, बहुविवाहजस्ता कारणले सम्बन्धविच्छेद गर्न महिला बाध्य हुन्थे । अहिले बढ्दो विदेश मोह र त्यसले निम्त्याएका विविध सामाजिक तथा घरायसी समस्याका कारण सम्बन्धहरु टिकाउ हुन सकिरहेका छैनन् । एउटा परिवार राम्रोसँग चलाउन श्रीमान–श्रीमती दुबैको उत्तिकै भूमिका रहन्छ । श्रीमान–श्रीमतीबीच आपसी सद्भाव र विश्वास कायम भएसम्म सम्बन्ध सुमधुर रहन्छ । जब एकापसमा विश्वासको संकट आउँछ, तब सम्बन्धविच्छेदको प्रक्रिया सुरु हुन्छ । सम्बन्धविच्छेदले क्षणिकरुपमा वैयक्तिक स्वतन्त्रता प्राप्त भए पनि यसले हाम्रो सामाजिक संरचनामा ठूलो असर गर्न सक्छ । सामान्यरुपमा देखिने असमझदारी र वैमनष्यताबाट सम्बन्ध तोड्न होइन, आपसी सद्भाव, विश्वास र सम्मानको भावनालाई बलियो बनाउँदै सम्बन्ध जोड्नतर्फ अग्रसर हुनु आवश्यक छ ।