हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को पूर्वाधार विकासमा विनियोजित बजेटको ३० प्रतिशतमात्र खर्च भएको छ । १ अर्ब २३ करोड २९ लाख ५१ हजार २ सय ५३ रुपैयाँ बिनियोजित बजेटमध्ये साउनदेखि चैतसम्म ३०.५१ प्रतिशत अर्थात् ३७ करोड ६१ लाख ७३ हजार ४ सय २७ रुपैयाँमात्र खर्च भएको हो ।
उपमहानगरपालिकाले यातायात पूर्वाधारमा ५८ कारोड २९ लाख ८२ हजार ८ सय ४९ रुपैयाँ बजेट विनियोजन गरेकोमा ३१.६४ प्रतिशत खर्च भएको छ । भवन, आवास तथा सहरी विकासमा ५८ करोड ९७ लाख ४२ हजार ४ सय ३ रुपैयाँ बजेट विनियोजन भएकोमा ३०.२ प्रतिशत खर्च भएको छ । ऊर्जामा १ करोड ६१ लाख ७० हजार विनियोजित बजेटमा २८.५७ प्रतिशत खर्च भएको छ ।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमा २ करोड १६ लाख ५० हजार बजेट विनियोजन भएकोमा ३०.९८ प्रतिशत खर्च भएको छ । सम्पदा पूर्वाधारमा २ करोड २ लाख ३१ हजार रुपैयाँ बजेट विनियोजित भएकोमा १२ प्रतिशतमात्र खर्च भएको छ । उपमहानगरपालिकाले पुननिर्माण शीर्षकमा २१ लाख ७५ हजार बजेट विनियोजन गरेकोमा खर्च शून्य रहेको छ ।
सामान्यतया ९ महिनाको अवधिमा ७५ प्रतिशत खर्च हुनुपर्नेमा ३० प्रतिशतमात्र बजेट खर्च भएको छ । यो विवरण हेर्दा उपमहानगरको बजेट खर्चको अवस्था निकै कमजोर रहेको देखिनुका साथै बजेट फ्रीज हुने सम्भावना बढाएको छ ।
उपमहानगरपालिकाको कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च शीर्षकमा विनियोजित ४४ करोड ६१ लाख ६५ हजार ६ सय ४७ रुपैयाँ बजेटको ६४.७५ प्रतिशत खर्च भएको छ । विकास निर्माणको काममा ३० प्रतिशत र कार्यालय सञ्चालनमा ६५ प्रतिशत खर्च भएको हो । विकासको काममा खर्च नगर्दा विकासका लागि आएको बजेट फ्रीज हुने गर्दछ, जसले विकासको काम रोकिने गरेको छ ।
आर्थिक विकासतर्फ २४ करोड ५७ लाख ५८ हजार ७ सय २० रुपैयाँ विनियोजित बजेटमा १६.३२ प्रतिशतमात्र खर्च भएको छ । जसमध्ये कृषिमा १६.७१ प्रतिशत, उद्योगमा १०.५४ प्रतिशत, पर्यटनमा ७.३५ प्रतिशत, सहकारीमा ९.८६ प्रतिशत, वित्तीय क्षेत्रमा ३२.४४ प्रतिशत, जलश्रोत तथा सिंचाईमा १५.३६ प्रतिशत खर्च, वनमा २२. ६६ प्रतिशत खर्च, पशुपंक्षी विकासमा १५.५३ प्रतिशत र भूमि व्यवस्थामा ६२.५४ प्रतिशत खर्च भएको छ ।
समग्रमा पूर्वाधार विकासमा ६० प्रतिशत काम भइसकेको र खर्च भुक्तानी हुन बाँकी रहेकाले बजेट खर्च कम देखिएको हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाले बताउनुभयो । आर्थिक विकासतर्फ ७० प्रतिशत खर्च भएको भए पनि रकम भुक्तानी हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । अहिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन सुरु गरिएको उहाँले बताउनुभयो ।
पालिकाले आगामी वर्षका लागि कति बजेट खर्च गर्ने भन्ने निर्णय अहिले हुननसक्ने मेयर लामाको भनाई छ । संघबाट जेठमा बजेट आएपछि उपमहानगरपालिकाको बजेटको टुङ्गो लाग्ने उहाँले जानकारी दिनुभयो ।