विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा–१५, रातोमाटेस्थित जनजागृति माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को व्यवस्थापन समिति अध्यक्षमा सिंहबहादुर लो निर्वाचित हुनुभएको छ । व्यवस्थापन समितिको मंगलबार सम्पन्न बैठकले वडा सदस्य समेत रहनुभएका लोलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिइएको हो ।

व्यवस्थापन समितिको आइतबार बसेको बैठकले समाजसेवी मध्येबाट लो र सरस्वती गोलेलाई विद्यालय व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको प्रधानाध्यापक केशवप्रसाद सञ्जेलले जानकारी दिनुभयो । गत चैत २३ गते सम्पन्न अभिभावक भेलाले अभिभावकबाट व्यवस्थापन समितिको सदस्यमा मीना लामा, फूलमाया लामा, सम्झना पाख्रिन र सूर्य बहादुर सिङ्तान चयन गरेको थियो । यस्तै शिक्षक प्रतिनिधिमा मानकुमार दाहाललाई चयन गरेको थियो ।

जनजागृति माविले अहिले विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको र शैक्षिक सत्र २०८० मा विद्यार्थी संख्या ४ सय २५ पुर्याउने लक्ष्य रहेको प्रधानाध्यापक सञ्जेलले बताउनुभएको छ । जनजागृति माविमा शैक्षिक सत्र २०७९ मा ३ सय ७८ जना विद्यार्थी भर्ना भएका मध्ये वार्षिक परीक्षामा २ सय ९९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।