द्रूतमार्गको अवलोकन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ।

हेटौंडाः प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं–तराई–मधेश द्रूतमार्गको अवलोकन गर्नुभएको छ । मंगलबार दिउँसो मकवानपुरको बकैया गाउँपालिकास्थित महादेवटार र लेनडाँडा क्षेत्रमा द्रूतमार्गअन्तर्गत निर्माणाधिन सुरुङ्गमार्गको अवलोकन गर्नुभएका प्रधानमन्त्री दाहालले आजै (मंगलबार) द्रूतमार्गसँग सम्बन्धित र आवश्यक निर्णयहरु मन्त्रीपरिषद्ले गर्ने बताउनुभएको छ ।

द्रूतमार्ग निर्माणको कार्य सन्तोषजनक रहेको बताउनुहुँदै प्रधानमन्त्री दाहालले आफ्नै नेतृत्वमा द्रूतमार्ग निर्माणको जिम्मा कसलाई दिने भन्ने निर्णय भएको र निजगढमा सिलान्यास पनि आफैंले गरेको स्मरण गर्नुभयो । सोमबार काठमाडौंमै द्रूतमार्ग निर्माण कार्यको ब्रिफिङ भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “यहाँ आएर स्थलगत अवलोकन गर्दा, सुरुङमार्ग हेर्दा द्रूतगतिमा काम भएको देखिन्छ । योसँग सम्बन्धित कतिपय निर्णयहरु गर्नुपर्ने छ । आजै हामी यहाँबाट काठमाडौं गएपछि मन्त्रीपरिषद् बैठकबाट फास्टट्र्याकसँग सम्बन्धित जरुरी निर्णय आजै गर्छौं ।”

कोभिड–१९ को अवधिमा प्रभावित भए पनि अहिले द्रूतगतिमा निर्माण कार्य अगाडि बढाउने प्रधानमन्त्रीले बताउनुभयो । द्रूतमार्गको अवलोकनमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, बकैया गाउँपालिकाका अध्यक्ष धर्मप्रसाद लामिछानेको पनि सहभागिता रहेको थियो ।