
हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या १३ हजार ५३ जना पुगेको छ । उपमहानगरको १९ वटा वडाको पछिल्लो विवरण अनुसार बैशाख महिनामा सामाजिक सुरक्षा भत्ता लिनेमा महिला ८ हजार ४ सय १० जना र पुरुष ४ हजार ५ सय ४४ जना रहेका छन् ।
उपमहानगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेमा गत आर्थिक वर्षबाट नवीकरण भई आएको ज्येष्ठ नागरिक भत्ता लिने ६ हजार ५ सय २४ जना रहेकोमा अहिले नयाँ १ हजार ६ सय २० जना थप भएका छन् । यस्तै, ज्येष्ठ नागरिक दलित भत्ता लिने पहिले ३ सय ९ जनाले नवीकरण गरेकोमा नयाँ थप ५४ जना, ज्येष्ठ नागरिक एकल महिला भत्ता लिने पुराना एक हजार २ सय ५७ जनाले नवीकरण गराएको र नयाँ ९३ जना थप भएको, विधवा भत्ता लिनेमा १ हजार ८ सय ९९ जनाले नवीकरण गरेको, नयाँ २ सय ७ जना थप भएको, पूर्ण अपाङ्गता भत्ता लिनेमा २ सय १४ जनाले नवीकरण गरेकोमा ४३ जना नयाँ थप भएका छन् । यस्तै, अति अशक्त अपाङ्गता भत्ता लिनेमा ४ सय ५३ जनाले नवीकरण गराएकोमा नयाँ ७७ जना थप भएका छन् । दलित बालबालिका भत्ता लिनेमा ४ सय ६३ जनाले अघिल्लो वर्षबाट नवीकरण गराएकोमा यो वर्ष १ सय ५६ जना नयाँ थप भएका छन् भने वडा नम्बर १३ मा ४ जना लोपोन्मुख जातिले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।
सामाजिक सुरक्षा भत्ता लिनेमा पुरुषको तुलनामा महिलाको संख्या दुई गुणा बढी रहेको छ । उपमहानगरपालिकामा वडा नम्बर १२ मा सबैभन्दा धेरै सामाजिक सुरक्षा भत्ता लिनेको संख्या रहेको छ । जसमा महिलाको संख्या ६ सय ५० रहेको छ भने पुरुष ३ सय ५२ जना रहेका छन् । उपमहानगरपलिकाको वडा नम्बर १० मा सबैभन्दा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको संख्या कम रहेको छ । जसमा १ सय ३९ जना पुरुष र २ सय ७६ जना महिला गरी जम्मा ४ सय १५ जना रहेका छन् ।
सरकारले ८ वर्ग विभाजन गरेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । सरकारले एक वर्षमा ४ पटक गरेर भत्ता प्रदान गर्दै आएको छ । सरकारले प्रत्येक वर्ष सामाजिक सुरक्षा भत्ता लिनेले कानुन बामोजिम कार्तिक मसान्तभित्र भने तापनि परिपत्रमा भदौ मसान्त भित्र नवीकरण गराउनुपर्ने व्यवस्था गरेको छ ।