शिक्षकका लागि आयोजना गरिएको कार्यमूलक अनुसन्धान कार्यशालामा सहभागी शिक्षकहरु ।

हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा शिक्षकको पेशागत विकासका लागि एकदिने कार्यमूलक अनुसन्धान कार्यशाला सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यशालालाई प्रशिक्षक डा. विजय नेपालले सहजीकरण गर्नुभएको थियो ।

नेपाल सरकारको नमूना विद्यालय अनुदान मार्फत प्राप्त बजेटबाट शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यशालाको आयोजना गरिएको प्रधानाध्यापक चौलागाईले बताउनुभयो । विद्यालय भर्ना अभियानकै क्रममा रहेको बेला घरदैलो कार्यक्रम सँगसँगै पेशागत क्षमता विकास कार्यशाला सम्पन्न गरिएको प्रधानाध्यापक चौलागाइँको भनाइ छ ।

पठनपाठनको अभ्यासमा देखापरेका समस्यालाई अनुसन्धानको माध्यमबाट समाधान गरी सिकाइमा लागू गर्न यस्तो तालिम उपयोगी हुने जनप्रियमाका तालिम विभाग संयोजक संप्रस पौडेलले बताउनुभएको छ । जनप्रियले अभिभावक तथा विद्यार्थी भेटघाट कार्यक्रम शुरु गरेको छ । सीमित सिट संख्या भएपनि बैशाख ८ गते प्रवेश परीक्षासहित नयाँ विद्यार्थीलाई विद्यालय प्रवेश गराइने र १० गतेबाट नियमित पठनपाठन सुचारु हुने समेत प्रधानाध्यापक चौलागाईले जानकारी दिनुभयो ।