९ नम्बर वडा कार्यालय भवनको सिलान्यास गरिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ९ नम्बर वडा कार्यालय भवन निर्माणको कार्य सुरु भएको छ । मंगलबार बिहान हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले वडा कार्यालय भवनको सिलान्यास गर्नुभएको छ । उपमहानगरपालिकाको ४० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत वडा कार्यालय भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष सुकराम केसीले जानकारी दिनुभएको छ ।

असार मसान्तभित्र निर्माण सक्ने गरी ६ कोठाको भुइँतल्ला मात्रै निर्माण गरिने वडा अध्यक्ष केसीले बताउनुभएको छ । वडा कार्यालय भवन सिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य वीरेन्द्र लामा, सुनिता दर्नाल, वडा सदस्य कमला पौडेल, विष्णु रानाको पनि सहभागिता रहेको थियो । आफ्नै भवन नहुँदा अहिले टोल विकास संस्थाको भवनमा वडा कार्यालय सञ्चालन भइरहेको छ । वडा कार्यालयले भाडा वापत टोल विकास संस्थालाई मासिक १५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

हेटौंडा उपमहानगरका १९ वटा वडा मध्ये २, ५, ६, १० र १६ नम्बर वडा कार्यालय अझै भाडाकै घरमा सञ्चालन भइरहेको छ । १० नम्बर वडा कार्यालय भवन भने निर्माणाधिन अवस्थामा छ । चालु आर्थिक वर्षभित्रै आफ्नै भवनमा वडा कार्यालय सञ्चालनमा आउने वडा अध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिनुभएको छ । १० नम्बर वडा कार्यालय र सहरी स्वास्थ्य इकाई भाडामा सञ्चालन भइरहँदा मासिक ४२ हजार रुपैयाँ भाडा वापत भुक्तानी गर्नुपर्ने अवस्था छ ।